घोडेपानीमा गुराँस पार्क बनाउने तयारी

अन्नपूर्ण गाउँपालिका–७ फूलवारीमा गुराँस पार्क निर्माणको तयारी थालिएको छ। गण्डकी प्रदेश सरकारले डिभिजन वन कार्यालयको समन्वयमा राष्ट्रिय फूल लाली गुराँसको संरक्षण र विदेशी तथा स्वदेशी पर्यटक प्रवर्धन गर्ने उद्देश्यले घोडेपानीको फूलवारीमा गुराँस पार्क बनाउने तयारी भएको हो।

गण्डकी प्रदेश सरकारले गत असारमा सार्वजनिक गरेको नीति तथा कार्यक्रममा म्याग्दीमा गुराँस पार्क बनाउने घोषणा गरेको थियो। अन्नपूर्ण चक्रिय पदमार्गले समेटिएको घोडेपानीमा गुराँसको संरक्षण गरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ गुराँसपार्क बनाउन आवश्यक बजेट बिनियोजन गरिएको गण्डकी प्रदेश सरकारले जनाइएको छ।

गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले घोरेपानीमा गुराँस पार्कका साथै पोखरामा विश्व शान्ति जैविक विविधता उद्यान, पञ्चासेमा सुनाखरी पार्क र भिमादमा वनस्पति तथा पंक्षी उद्यानको लागि बजेटको व्यवस्था गरिएको जानकारी दिए।

विभिन्न प्रजातिका ९ थरिका गुराँसको फूल फुल्ने घोडेपानीमा लाली गुराँसको विशाल जंगल छ। आँखै अगाडि झलमल्ल हिमाल र चैत, बैशाखमा पाखैभरी ढकमक्क फुलेका लालीगुराँसले पर्यटकलाई ओभ्याउने गरेको घोडेपानीका होटल व्यवसायी तथा अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्या. डमबहादुर पुनले बताए।

यसबाट प्रदेशमा पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने उनले विश्वास व्यक्त गरे। पार्क निर्माणका लागि नेसरानी सामुदायिक वन उपभोक्ता समूहसँंग गुराँस पार्क निर्माण गर्न सम्झौता भएको डिभिजन वन कार्यालय म्याग्दीका निमित्त प्रमुख सन्तोष खनालले जानकारी दिए।

 

 

Previous articleतातोपानी कुण्डमा स्नान गर्ने बिरामीको भिड (फोटो फिचर)
Next articleरहेनन् चर्चित गीत ‘बेनीको बजार’का सर्जक टिकाबहादुर श्रेष्ठ
धु्रबसागर शर्मा
धु्रबसागर शर्मा बेनीअनलाइनका संवाददाता हुनुहुन्छ।