‘बेनीको बजार जता माया उतै छ नजर’ का सर्जक गायक टिकाबहादुर श्रेष्ठको निधन भएको छ । लोक तथा संगीतमार्फत म्याग्दकिो सदरमुकाम बेनीलाई विश्वभर चिनाउन सफल गायक श्रेष्ठको ७५ बर्षको उमेरमा बुटवलमा निधन भएको हो ।

म्याग्दीमा जन्मिएर लोक संगीत, नेवारी संस्कृतिका अग्रज कलाकारको रुपमा स्थापित श्रेष्ठले २०३१ सालमा रेडियो नेपालमा रेकर्ड गरिएको ‘बेनीको बजार जता माया उतै छ नजर, किरेमिरे जाले रुमाल’ बोलको गीत श्रीमती मन छन्त्यालसँगै गाएका थिए । लामो समयसम्म मिर्गौला सम्बन्धी समस्याले अहिले निरन्तर डायालासिस गरिरहेका श्रेष्ठको निधनले लोकसंगीतको क्षेत्रमा अपुरणीय क्षती पुगेको छ ।

पुराना पुस्ताका लोकप्रिय गायकका रुपमा चिनिएका श्रेष्ठले दर्जनौ सम्मान समेत प्राप्त गरेका थिए । वि.सं.२०१९ साल फागुन ७ गते प्रजातन्त्र दिवसको दिन काठमाडौको राष्ट्रिय नाचघरमा पहिलोपटक बेनीको बजार गुन्जिएको थियो । सांगीतिक कार्यक्रमको लागि १४ वटा अञ्चलबाटै आएका कलाकारलाई समेत टिकाबहादुर र मन छन्त्यालको प्रस्तुतीले उछिनेको थियो ।

म्याग्दीमा शिक्षण पेशामा समेत कार्यरत रहदाँ धौलागिरी अञ्चलका अञ्चलाधिसले श्रेष्ठले काठमाण्डौको कार्यक्रमसम्म पुग्न लेखेको पत्रले नै सांगितिक यात्रामा संलग्न गराएको थियो । सर्जक श्रेष्ठलाई म्याग्दी उद्योग वाणिज्य संघ,म्याग्दी जेसीज लगायतका संघसंस्थाले समेत सम्मान गरेका छन् । मृगौला सम्बन्धि समस्या झेलिरहदाँ समेत श्रेष्ठ सांगीतिक क्षेत्रसँग नजिक थिए । तबला, हार्मोनियम, लगायतका थुपै बाजा बजाउन जानेका श्रेष्ठ पछिल्लो एकदशक यता भने गुमनाम अवस्थामा थिए ।

Leave a Reply