बेनी नगरपालिका-२, स्थित गौस्वरा सामुदायिक वनमा बिहिबार रातीदेखि सयौं हेक्टर क्षेत्रफलमा फैलिएको आगो नियन्त्रणमा आउन सकेको छैन ।

काठ र सुकेका स–साना हाँगाबिँगा, पातपतिङ्गर पोल्ने क्रममा असावधानी पूर्वक आगलागी भएको थियो । सुरक्षाकर्मी र सयौं स्थानीयले शुक्रबार बिहानैदेखि आगो निभाउने प्रयास गरीरहेको भएपनि नियन्त्रण प्रयास सफल हुन नसकेको स्थानीय यूवा सुजन गौतमले बताए ।

डढेलो निभाउनका लागि सामुदायिक वन समूहका साथै जिल्लाबाट गएको टोलीले स्थानीय प्रविधिको प्रयोग गरेपनि हावाका कारण आगो अझ फैलिने क्रममा रहेको छ । गौस्वराको सामुदायिक बनबाट फैलिएको आगो छिमेकी बागलुङ जिल्लाको धम्जा गाउँ आसपासको जंगलसम्म पुग्ने जोखिम रहेकाले अव आगो निभाउन जोखिम मोल्न सक्ने अवस्था नरहेको स्थानीयले बताएका छन् ।

आगलागी आसपासका क्षेत्रमा तत्काल मानवबस्तीमा जोखिम नभएपनि नियन्त्रणमा नआए बस्तीमा समेत असर गर्न सक्ने सम्भावना रहेकाले उच्च प्रविधिको प्रयोग गरी आगलागी नियन्त्रण गर्न स्थानीयले माग गरेका छन् । वनमा लागेको आगोले करोडौ मूल्य बराबरको काठ जलिसकेको छ। डढेलोले शुक्रबार साँझदेखि ठूलो रूप लिएको छ ।

Leave a Reply