म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गा र ५ नम्बर वडा पुलाचौरमा वडा कार्यालयबाटै सामाजिक सुरक्षाभत्ता वितरण भएको छ । नगरपालिका र वडा कार्यालयहरुको समन्वयमा प्रभु बैंक लिमिटेड बेनी शाखामार्फत चालु आर्थिक वर्ष २०७७÷०७८ को दोस्रो चौमासिकको सामाजिक सुरक्षाभत्ता लक्षित वर्गलाई वितरण गरिएको हो ।

बिहीबार र शुक्रबार गरी दुई दिनसम्म दुवै वडा कार्यालयबाट कुल ५ सय ९९ जनालाई ५३ लाख १५ हजार रुपैयाँ सामाजिक सुरक्षाभत्ता वापतको रकम वितरण गरिएको प्रभु बैंक लिमिटेड बेनी शाखाले जनाएको छ । ज्येष्ठनागरिक र पूर्ण अपाङ्गता भएका व्यक्तिहरु ३ सय ७१ जनालाई ३८ लाख ७८ हजार रुपैयाँ भत्ता वितरण गरिएको प्रभु बैंक बेनी शाखाका प्रमुख लालकुमारी खड्काले बताउनुभयो ।

यसैगरी एकल–विधवा र ज्येष्ठ दलित १ सय ५१ जनालाई १० लाख ८८ हजार, आंशिक अपाङ्ग ३१ जनालाई दुईलाख ७९ हजार चारसय र ४६ जना दलित बालबालिकालाई ६९ हजार छ सय रुपैयाँ भत्ता उपलब्ध गराइएको शाखा प्रमुख खड्काले जानकारी दिनुभयो ।

गाउँमै पुगेर वडा कार्यालयबाटै आफ्नै हातले भत्ता बुझ्न पाउँदा ज्येष्ठनागरिक तथा लक्षित वर्ग खुसी भएका छन् । बेनी जाँदा पैसा खर्च हुनुभन्दा वडा कार्यालयबाट भत्ता बुझ्न पाउँदा समयको समेत बचत भएको बेनपा–४, राक्सेका ७२ वर्षीय ज्येष्ठनागरिक नन्दलाल पाध्याले बताउनुभयो ।

सरकारले ज्येष्ठनागरिकलाई अनिवार्य रुपमा बैंक खातामार्फत नै सामाजिक सुरक्षाभत्ता उपलब्ध गराउनुपर्ने व्यवस्था गरेपछि स्थानीय तहको पहलमा बैंकमा खाता खोलेर भत्ता दिन थालिएको हो ।

यसअघि तत्कालीन गाविस सचिवहरुले घरमै पुगेर भत्ता वितरण गर्दा अनियमितता हुने तथा पैसा हराउन सक्ने जस्ता समस्याका कारणले गर्दा सरकारले हरेक नागरिकको बैंक खाता हुनुपर्ने अवधारणा ल्याएपछि बैंकबाटै भत्ता दिने गरिएको छ ।

सङ्घीयताको कार्यान्वयनसँगै वडा कार्यालय र नगरपालिकाको समन्वयमा नागरिकलाई घरदैलोमै राज्यका सेवासुविधा पु¥याउन वडास्तरमै भत्ता वितरणको व्यवस्था मिलाइएको बेनपा–४, सिङ्गाका वडा अध्यक्ष गोविन्द पौडेलले बताउनुभयो ।

प्रभु बैंक बेनी शाखाले विगत २ वर्षदेखि म्याग्दीको बेनी नगरपालिकाको विभिन्न वडामा नगरपालिकाले पठाएको लक्षित वर्गको तथ्याङ्कको आधारमा सामाजिक सुरक्षाभत्ता वितरण गर्दै आइरहेको छ ।

बैंकमार्फत वर्षमा ३ पटकसम्म चौमासिकका दरले ज्येष्ठनागरिकलाई भत्ता उपलब्ध गराउने गरिन्छ । म्याग्दीका ६ वटै स्थानीय तहमा शाखा विस्तार गरेको प्रभु बैंकले सबै स्थानीय तहमा सामाजिक सुरक्षाभत्ता वितरण गर्दै आइरहेको छ। इन्टरनेट तथा मोबाइल बैंकिङ, एटिएम तथा क्युआर कोडलगायत सेवासुविधा रहेको प्रभुको देशैभर २ सयबढी शाखा छन् ।

नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको कार्यकालमा पहिलोपटक १ सय रुपैयाँका दरले सामाजिक सुरक्षाभत्ता तथा वृद्धभत्ता दिन थालिएको थियो । नेकपा एमालेको तर्फदेखि पहिलो प्रधानमन्त्री बनेका अधिकारीको पालामा मासिक एकसय रुपैयाँबाट सुरु भएको रकम बढेर अहिले तीनहजार पुगेको छ ।

Leave a Reply