म्याग्दीको बेनी अस्पतालमा शनिबारदेखि सर्वसाधारणहरुलाई लक्षित गरेर आँखा शिविर सुरु भएको छ । सामाजिक क्षेत्रमा क्रियाशील संस्था लायन्स क्लबहरुको आयोजनामा आँखाको उपचार गर्नका लागि शिविर सञ्चालन गरिएको हो।

शनिबार बेनी अस्पतालमा सञ्चालित आँखा शिविरमा कुल १ सय ५ जनाले आँखा परीक्षण गराएका छन् । उक्त शिविरमा ४ जनाको मोतियाविन्दुको अप्रेसन गर्नुपर्ने पहिचान भएको अस्पतालको आँखा उपचार शाखा इन्चार्ज प्रकृति ढुङ्गानाले जानकारी दिएकी छन् । आँखा शिविरमा लायन्स क्लब अफ म्याग्दी दोभान र बेनी महारानीका लायन सदस्यहरुले स्वयंसेवा गरेका थिए ।

आँखा शिविरका लागि हिमालय आँखा अस्पताल घारीपाटन पोखरा, नेपाल नेत्रज्योती संघ बेनी म्याग्दी, बेनी अस्पताल र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीले प्राविधिक सहयोग उपलब्ध गराएका छन् । आँखा शिविरको आयोजकहरुमा लायन्स क्लब अफ बेनी म्याग्दी, म्याग्दी दोभान, बेनी सिटी, बेनी मल्लाज, म्याग्दी दरबाङ, बेनी पिस सिटी, बेनी महारानी, म्याग्दी मंगला, अन्नपूर्ण म्याग्दी, बेनी लभ्लीहिल र लियो क्लब अफ बेनी म्याग्दी रहेको जनाइएको छ ।

यसअघि जिल्लाको स्थानीय तहमा सञ्चालित आँखा शिविरमा पहिचान भएका मोतियाबिन्दुका बिरामीहरुको आइतबार र सोमबार बेनी अस्पतालमा निःशुल्क अप्रेसन गर्ने तयारी गरिएको छ । लायन्स क्लबहरुले हरेक वर्ष निःशुल्क रुपमा आँखा शिविरको आयोजना गरी गरिब तथा विपन्नको उपचार गर्दै आइरहेको जनाएका छन् ।

Leave a Reply