विश्व रङ्गमञ्च दिवसको अवसरमा पर्वत जिल्लाको जलजला गाउँपालिका–३ पर्वतबेनीमा रहेको न्यु होराइजन माध्यमिक विद्यालयका विद्यार्थीले तयार गरेको ‘अभाव’ नामको नाटक मञ्चन गरिएको छ । शनिबार पोखरा थिएटरको गन्धर्व नाटकघरमा विद्यालयका नेपाली शिक्षक मनोहर पौडेलले लेखेको नाटक, मीना रेग्मीको निर्देशनमा तयार गरिएको थियो ।

पोखरा थिएटरले आयोजनामा ‘विद्यालयमा रंगमञ्च अर्थपूर्ण बाल सहभागीताको आधार’ भन्ने मुल नाराका साथ आयोजित प्रतियोगितामा गण्डकी प्रदेशमै उत्कृष्ट तेस्रोमा पर्न सफल करिब १५ मिनेटको नाटकमा एक गरिवी र निमुखा परिवारले जीवन ब्यथित गरिरहेको, विपन्नताका कारण झेल्नु परेको अभावै अभाव, गरिबको कोखमा जन्म लिएपछि बालबालिकाले भोग्नुपरेको समस्या सहित गरिवको प्राथमिकतालाई जोड दिइएको थियो । विद्यार्थीले नाटकमार्फत चरम गरिबीको झल्को दिदाँ हलमा सहभागी भाबुक भएका थिए ।

नाटकमा कक्षा १० का विद्यार्थी शुष्मा आचार्य, कक्षा ९ मा अध्ययनरत सञ्जीवनी शाही र दीपेश रोका, कक्षा ७ मा अध्ययनरत श्रद्धा रेग्मी, कक्षा ५ मा अध्ययनरत सोफिया गर्वुजा र रुपेश अधिकारी, कक्षा ४ मा अध्ययनरत आरोशी मल्ल तथा केजीमा अध्ययनरत विवेचना गुरुङको दमदार प्रस्तुती रहेको थियो ।

प्रदेश स्तरीय विद्यालय नाटक महोत्सवका लागि गण्डकी प्रदेशका कास्की, गोरखा, तनहुँ, स्याङ्जा, बागलुङ, पर्वत, नवलपुर, म्याग्दी, तनहुँ, लमजुङ गरी १० जिल्लाका कुल ४० नाटक सहभागी भएका थिए । उत्कृष्ट नाटक छनोट गर्न वरिष्ठ कलाकार प्रकाश घिमिरेको संयोजकत्वमा तीन सदस्यीय समिति बनाइएको थियो । महोत्सवमा ‘न्यायको खोजी’ प्रथम बन्न सफल भएको थियो ।

यो भानुभक्त आवासीय माध्यमिक विद्यालय, कास्कीले तयार पारेको नाटक थियो । महोत्सवमा पोखराको जनप्रिय माध्यमिक विद्यालयले तयार पारेको नाटक ‘लगानी’ द्वितीय हुन सफल बनेको थियो । महोत्सवमा प्रथम हुने विद्यालयले पचास हजार रुपैयाँ, द्वितीय हुनेले नगद पच्चिस हजार रुपैयाँ, तृतीय हुनेले १२ हजार ५ सय रुपैयाँ र सान्त्वना हुनेले पाँच हजार रुपैयाँ नगद सहित प्रमाणपत्र हात पारेका थिए ।

नाटकमा धौलागिरी क्षेत्रमै उत्कृष्ट भएकाले भविस्यमा विद्यार्थीको सम्भावना अनुसार थप अगाडी बढ्ने होराईन आमाविका प्रधानाध्यापक अर्जुन पौडेलले बताए । विद्यालयले शैक्षिकसँगै अतिरिक्त क्रियाकलापलाई समेत उच्च प्राथमिकता दिने गरेको छ ।

पुरस्कार वितरण तथा प्रोत्साहनका लागि विद्यालयका अध्यक्ष दलबहादुर जिसी लगायतको उपस्थिती समेत रहेको थियो । नाटक महोत्सवको समापन तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रदेश सरकारले भाषा, कला, संस्कृति र सङ्गीतको क्षेत्रमा महत्त्वका साथ काम गर्न खोजेको बताए ।

 

Leave a Reply