पश्चिम म्याग्दीको मंगला गाउँपालिका-२, बाबियाचौरस्थित लाम्पाटामा अवस्थित मंगला शिक्षा क्याम्पसमा अक्षयकोष स्थापना गर्न यशुदा रोकाको संयोजकत्वमा पूर्वाधार आर्थिक सङ्कलन समिति गठन भएको छ ।

शनिबार आयोजित भेलाबाट सामान्य धारको पढाइभन्दा बजारमा छिटो रोजगारी पाउने र आकर्षक कमाई हुने भनिएको प्राविधिक धारका विषयलाई प्राथमिकता दिन तथा आर्थिक अभावलाई समाधान गर्न करिब २ करोड आर्थिक संकलन गरी अक्षय कोष बनाउने समेत निर्णयउ गरेको छ ।

आर्थिक सहयोग समितिको सदस्यमा गाउँपालिका अध्यक्ष सतप्रसाद रोका, उपाध्यक्ष सिर्जना केसी, वडा नं २ का वडा अध्यक्ष धनबहादुर खाती क्षेत्री, क्याम्पसका निर्वतमान अध्यक्ष श्रीराम पौड्याल, रत्नबहादुर वि.क. चक्रलाल पाण्डे,देवीकुमारी केसी, रुद्रबहादुर केसी, टङ्क बुढाथोकी, विनोद भट्टचन, दीपक जिसी, हरिकृष्ण गौतम, प्रेमलाल पौड्याल, मनकुमार जुग्जाली, केशब कँडेल रहेको सदस्य सचिव पितमबहादुर खत्रीले जानकारी दिए ।

आर्थिक संकलन अभियानलाई प्रभावकारी बनाउन सल्लाहकार समिति समेत गठन गरिएको छ । जसमा पूर्व आर्थिक सङ्कलन समिति अध्यक्ष चन्द्र प्रसाद बुढाथोकी, पूर्व आर्थिक सङ्कलन समिति, गैर सरकारी संघसंस्थका संयोजक नरसिंह केसी र पूर्व आर्थिक सङ्कलन समिति, शिक्षक कर्मचारीका संयोजक कविन्द्र रोका रहेका छन् ।

भेलामा गाउँपालिका अध्यक्ष रोकाले आर्थिक अभावले शैक्षिक तथा आवश्यक विभिन्न योजनाहरु अलपत्र परेको अवस्थामा स्वदेश तथा विदेशमा थप सहयोग संकलन अभियानलाई तिब्रता दिने बताए । पश्चिम म्याग्दीको एक मात्र क्याम्पसलाई प्राविधिक धारका कक्षा सञ्चालनका लागि उपयुक्त वातवारण बनाउन आर्थिक स्रोत जुटाउन आवश्यक रहेको सञ्चालक समितिका अध्यक्ष यामबहादुर थापाको भनाई छ ।

यसअघि मंगला शिक्षा क्याम्पसको भवन निर्माणका लागि जग्गा खरिद गर्न स्वदेश तथा विदेशबाट गरी झण्डै साढे ८७ लाख रुपैयाँ आर्थिक सङ्कलन गरिएको थियो ।

सङ्कलित रकमबाट बाबियाचौरको लाम्पाटामा साढे ३३ रोपनी जग्गा खरिद गरी क्याम्पसको भवन निर्माण गरिएको छ। क्याम्पसमा स्थानीय, प्रदेश र संघीय सरकारबाट समेत बजेट विनियोजन भएकाले पूर्वाधार विस्तारले समेत तिब्रता पाएको छ । क्याम्पसमा पश्चिम म्याग्दीका साथै छिमेकी बागलुङ जिल्लाबाट समेत विद्यार्थी अध्यायनका लागि आउने गरेका छन् ।

 

Leave a Reply