बेनीको बजार
जता माया उतै छ नजर
किरेमिरे जाले रुमाल….
२०३१ सालमा रेडियो नेपालमा रेकर्ड गरिएको यो गीत अहिले पनि विश्वभर उत्तिकै चर्चित छ । म्याग्दीको सदरमुकाम बेनीबजारमा पाइला समेत नराखेका नेपाली मात्रै होईन धेरै विदेशीको समेत जनजिब्रोमा यो गीत।

पाँचदशक भन्दा बढी एउटै गीतले म्याग्दी जिल्लाको कला र संस्कृति, प्राकृतिक सम्पदालाई चिनाउन सफल भयो । बागलुङको बेनी, पर्वतको बेनी भन्दै देशभित्रै म्याग्दीलाई समेत नचिन्नेहरूलाई गीतमार्फत बेनीबजार र म्याग्दीलाई चिनाउने टीकाबहादुर श्रेष्ठलाई भने म्याग्दीले चिन्न सकेन् । एउटा गीतभित्र सिंगो म्याग्दी जिल्ला छ । गीतको दर्जनौं रिमिक्सले बजार तात्दा समेत सर्जक तथा गायक लामो समयसम्म गुमनाम भए ।

पछि आएका गीतमा उनीहरुको पहिचान नजोडिदाँ समेत स्वर्गीय श्रेष्ठले कहिल्यै मुद्धा हाल्न ध्यान दिनुभएन । गीतबाट कमाईले कहिल्यै लोभ्याएन्, चर्चित नेपाली फिल्महरूमा समेत गीतको टुक्राले स्थान पाउँदा श्रेष्ठ फुरुङ्ग हुन्थ्ये। गीतमा सर्वाधिकारको बहसमा चर्चित गायकहरूको चर्को विवादले श्रेष्ठलाई कहिल्यै उस्काउन सकेन् ।

आफ्नो गीतले जन्मभूमिको प्रचार भएको भन्दै खुसी हुने टीकाबहादुरको फराकिलो सोचाईसँगै गीत विश्वभर विषेशगरी अफ्रिकी मुलुकमा समेत गुन्जिन थाल्यो । श्रीमती मन छन्त्याल र रचनाकार श्रेष्ठको युगल स्वर रहेको यो गीत अहिलेसम्म पनि चर्चाको शिखरमा छ । यही गीतका आधारमा नै बेनी बजारलाई मायालुको शहर भनेर समेत चिनिन्छ।

जन्मथलो म्याग्दीबाट बसाइँ सरी रुपन्देहीमा बसोवास गर्दै आउनुभएका श्रेष्ठको ७५ वर्षको उमेरमा गत बिहीबार बुटवलमा निधन भयो । स्वर्गीय श्रेष्ठका नाममा सामाजिक सञ्जालमा धेरैले श्रद्धाञ्जली सहित योगदानको चर्चा भयो ।

सम्भवत् नेपालमा राष्ट्रिय गीतहरू बाहेक एउटा जिल्लाको सदरमुकाम र त्यहाँका बिषयलाई गीतसंगीतमार्फक करिब पाँचदशकसम्म चर्चा हुनेमा स्वर्गीय श्रेष्ठको बेनीको बजार पनि पर्छ । लामो समयसम्म मिर्गौलासम्बन्धी समस्याले ग्रसित गायक श्रेष्ठले निरन्तररूपमा उपचारर्थ श्रेष्ठको निधनलाई म्याग्दीमा सामान्य सम्झिने प्रयास भयो ।

केही स्थानीय राजनीतिज्ञ र ब्यवसायीले सम्मान सहितका विषयहरु उठान गरेपनि त्यसले चासो र स्थान पाएन् । श्रेष्ठको निधनले लोक सङ्गीतको क्षेत्रमा अपूरणीय क्षति पुगेपनि उचित सम्मान र सम्झनाहुने काम गर्ने तर्फ भने कुनै चासो दिइएको छैन् ।

तबला, हार्मोनियम लगायतका थुप्रै बाजा बजाउने श्रेष्ठ डेढदशक यता म्याग्दी जेसीज, म्याग्दी उद्योग वाणिज्य संघले सम्मान गरेपनि योगदानको आधारमा मुल्याङ्कन हुन सकेन्। नजिकको तिर्थ हेला भने जस्तै टीकाबहादुर म्याग्दीको गीतसंगीतका लागि मन्दिर हुनुहुन्थ्यो,उहाँको अगाडी योगदानको खुलेर प्रशंसा गर्ने, पूजा गर्नेहरुले समेत अहिले बिर्सिन थाले ।

विसं २०१९ साल फागुन ७ गते प्रजातन्त्र दिवसका दिन काठमाडौँको राष्ट्रिय नाचघरमा पहिलो पटक श्रेष्ठले ‘बेनीको बजार,जता मायाँ उतै छ नजर….’ बोलको गीत गाए ।

सो कार्यक्रममा नेपालका १४ अञ्चलबाट आएका कलाकारलाई उछिनेर श्रेष्ठ दम्पतीको बेनीको बजार बोलको गीत नै प्रथम भएको म्याग्दीका अग्रज कलाकार अबिरकुमार श्रेष्ठले बताए । म्याग्दीमा अग्रज कलाकारहरुले श्रेष्ठलाई सधै जीवित भएको महसुस गर्ने गरी बेनीबजार आसपासको क्षेत्रमा केही काम गर्नुपर्नेमा बेनी नगर तथा सरोकारवाला निकायलाई सुझाव समेत दिएका छन् ।

बाँचुन्जेल जस्तै निधनपछि पनि…
बाँचुन्जेल गाली र प्रशंसा गर्ने र मरेपछि भगवान नै ठान्ने परम्परा नेपाली समाजमा नौलो होइन । अझै समाजमा योगदान दिएकाहरू भन्दा राजनीतिक दल, आर्थिक रुपमा सम्पन्न भएकाहरुमा यस्तो आचरण परम्परा नै बन्ने गरेको छ । राजनीतिक दलका नेताहरुको त सार्वजनिक चोक, जग्गाहरुमा शालिक नै बनाउने गरिन्छ ।

जीवनभर समाज र राष्ट्रका लागि योगदान दिने, सत्कर्म गर्नेहरू मरेर गए पनि लामो समयसम्म मानसपटलमा सम्झनामा रहन्छन् । पुन्यतिथिमा भब्य कार्यक्रम गरिन्छ ।  तर, श्रेष्ठको निधनमा माथिको मान्यताका अपवाद भए ।

नत राज्यले सम्झियो, गीतसंगीतको क्षेत्रमा सक्रिय संघसंस्था नत बेनीका सरोकारवाला निकाय नै । उहाँको निधन धेरैका लागि जानकारी दिने माध्यम बन्यो मात्र सामाजिक सञ्जाल । जीवित छदाँ जस्तै निधन पनिगुमनाम नै बन्न पुग्यो । एउटै गीत बेनीको बजारले उनलाई पुरानो पुस्ताको गायकको रुपमा परिचित गरायो।

 

 

Leave a Reply