म्याग्दीको मालिका गाउँपालिका-७,बिम नौरुङका ओमप्रसाद दर्जीको घर सहित खेतबारी पहिरोले पुरिदिएपछि विस्थापित जिवन विताइरहनुभएको छ । छिमेकी गाउँमा बस्दै आउनुभएका दर्जीको घरमा श्रीमति, छोराबुहारी,  सहित ८ जना छन् ।

पहिरोले घरखेत एकै मिनेटमा पुरिदिएपछि सामान्य खेतीबालीका लागि मात्रै नौरुङ गाउँ जानुहुन्छ । दर्जीको दैनिक अन्य विस्थापित भएका स्थानीयको भन्दा फरक छ ।  विहान उठेर म्याग्दी प्रवासी नेपाली संघ (मोना) ले पीडितका लागि लक्षित गरी निर्माण गरिरहेको घरमा सघाउने, आवश्यक साम्रागीका बारेमा चासो दिने, गुणस्तर र बन्दै गरेको घरको अवस्थामा ठेकेकार र मजदुरसँग चासो राख्नुहुन्छ ।

इट्टा बोक्ने देखि सघाउने काममा मजदुरकै भूमिका निर्वाह गर्नुहुन्छ, तर तलब भने उहाँलाई छैन् ।दर्जीले आफ्नो अनुभवलाई समेत मजदुरलाई सुनाउने, सक्ने काममा समेत सघाउने गनुहुन्छ । उहाँलाई घरको लालपूर्जा कहिले पाइन्छ अनि ८ जनाको परिवार कसरी बस्ने भन्ने चिन्ता छ ।

पुर्नवास कार्यदलका सदस्य दल शेरबुजाले समेत कामदारको काम तथा समसयका बारेमा जानकारी गराउने जिम्मेबारी समेत दर्जीलाई सुम्पिनुभएको छ । पहिरोले घर बगाउँदाका केही दिन एक निन्द्रा पनि सुत्न नसेका दर्जीमा विदेशमा रहेका बिमबासी र मोनामार्फत जग्गा सहित घर बनाउन थालेपछि अहिले केही राहत महसुस भएको छ ।

‘आफ्नै लगानीमा घर बनाएजस्तै गरी दैनिक आउँछु,‘सधै यही बन्नुपर्छ, केही कमजोरी भयो भने पछि मर्मत गर्ने मान्छे पनि पाइदैन’ दर्जीले भन्नुभयो ।अन्य विस्थापित निर्माणधिन अवस्थामा रहेको घर आसपासमा मुस्किलले भेटिने गरेकोमा दर्जीको नियमित चासो र सक्रियताले मोनाका प्रतिनिधि समेत उत्साहित छन् ।

‘घरमा छिट्टै सर्न चाहना छ,‘गोलाप्रथाबाट मलाई पर्ने घर कुन होला भन्ने सोच्छु’ दर्जीले बेनीअनलाइनसँगको कुराकानीमा भन्नुभयो । मोनाले जिल्लाभर बनाउँदै गरेका अधिकांस घरमा पीडित बोलाए मात्रै जाने गरेका छन् । मोनाले बनाउँदै गरेको घरमा दर्जीको मेहनतले मोनाका प्रतिनिधि समेत उत्साहित छन् । दर्जीले जस्तै चासो देखाउने पीडितको संख्या न्यून रहेको छ ।

‘हामीले पीडितलाई दैनिक घर बनाउने ठाउँमै जानु भएका छौ,‘उहाँहरुले त्यहाँ पुग्दा हामीलाई पनि थप काम गर्न सहज हुन्छ’ मोनाका महासचिव बिक्रम कार्कीले भन्नुभयो । मोनाले असार महिनाको अन्तिम साता पहिरोले विस्थापित भएपछि छिमेकी र अस्थायी टहरोमा बिताइरहेका पीडितलाई जिल्लाभर ४० घर बनाइरहेको छ । मोना अन्तराष्ट्रियले नयाँ बर्षको उपहारका रुपमा नयाँ दिने तयारीमा छ ।

जिल्ला विपद् ब्यवस्थापन समिति,स्थानीय प्रशासन र पालिकाहरुसँग समन्वय गरी जग्गाविहिनलाई एकीकृत बस्ती र जग्गा भएका पीडितलाई मापदण्ड अनुसारको घर बनाइरहेको कार्यदल सदस्य दल शेरबुजाले बताउनुभयो । पहिरोले ढलाएको घर ठडाउँने काम करिब अन्तिम चरणमा पुगेको छ।

एकिकृत बस्तीमा पीडितले गोलाप्रथाको आधारमा घर पाउने छन् । मोनाले धवलागिरी गाउँपालिकामा १४, मालिकामा १०, मंगला, रघुगंगा, अन्नपूर्ण गाउँपालिका र बेनी नगरपालिकामा ४–४ वटा घर निर्माण गरिने भएको छ। एक वटा भान्छा कोठा सहित तीन कोठे घर भूकम्प प्रतिरोधी क्षमताको हुने घरको लागत ५ लाख छ।

Leave a Reply