म्याग्दीको बेनी अस्पतालमा आइतबारदेखि सर्वसाधारणहरुलाई लक्षित गरेर मोतियाविन्दुको शल्यक्रिया शिविर सुरु भएको छ । सामाजिक क्षेत्रमा क्रियाशील संस्था लायन्स क्लबहरुको आयोजनामा आँखाको उपचार गर्नका लागि जिल्लाका विभिन्न स्थानमा भएको आँखा शिविरमा भेटिएका मोतियाविन्दुका बिरामीहरुमा आँखाको शल्यक्रिया सुरु गरिएको हो ।

हिमाली जिल्ला म्याग्दीको पश्चिम धौलागिरी गाउँपालिकाको मुना र ताकम, मालिकाको दरबाङ, मंगलाको बाबियाचौर, रघुगंगाको भगवती र चिमखोला, अन्नपूर्ण गाउँपालिकाको भूरुङ–तातोपानी, बेनी नगरपालिकाको बेनी अस्पताल, क्याम्पसचोक, गलेश्वर र रत्नेचौर तथा पर्वतको जलजला गाउँपालिकाको मल्लाजमा गरी १२ स्थानमा लायन्स क्लब तथा नेत्रज्योती संघ म्याग्दीले शिविर सञ्चालन गरी मोतियाविन्दुका बिरामीको पहिचान गरेका थिए ।

उक्त शिविरमा १ सय १२ जना मोतियाविन्दुका बिरामीको पहिचान गरिएको थियो । आइतबार ३० जना मोतियाविन्दुका बिरामीहरुमा आँखाको शल्यक्रिया गरिएको आँखा उपचार शाखा बेनी अस्पतालका इन्चार्ज प्रकृति ढुङ्गानाले बताउनुभयो ।

गलेश्वर तथा चिमखोलामा भएको शिविरबाहेक २ हजार २२ जनाले आँखा चेकजाँचको शुविधा लिएको लायन्स क्लबहरुद्वारा आयोजित आँखा शिविरको मूल संयोजक लोकेश पुनले जानकारी दिनुभयो ।

म्याग्दी जिल्लाभित्र विभिन्न लायन्स क्लबहरु तथा पर्वत बेनीमा रहेको लायन्स क्लबको संयुक्त आयोजनामा सञ्चालित शिविरमा पहिचान भएका मोतियाविन्दुका बिरामीको हिमालय आँखा अस्पताल घारीपाटन पोखराका आँखा रोग विशेषज्ञ डाक्टर कृष्णा गुरुङको नेतृत्वमा ८ जनाको टोलीले बेनीमै शल्यक्रिया गरिरहेको छ ।

नेपाल नेत्रज्योती संघ बेनी म्याग्दी, बेनी अस्पताल र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीले समेत शिविरलाई प्राविधिक सहयोग उपलब्ध गराएका छन् । आँखा शिविरको आयोजकहरुमा लायन्स क्लब अफ बेनी म्याग्दी, म्याग्दी दोभान, बेनी सिटी, बेनी मल्लाज, म्याग्दी दरबाङ, बेनी पिस सिटी, बेनी महारानी, म्याग्दी मंगला, अन्नपूर्ण म्याग्दी, बेनी लभ्लीहिल र लियो क्लब अफ बेनी म्याग्दी रहेको मूल संयोजक पुनले बताउनुभयो ।

Leave a Reply