बाग्लुङ, प्युठान र गुल्मीको सिमानामा पर्ने बल्देधुरीमा दुई जनाको ज्यान जानेगरी आइतबार भएको ग्याङ फाइटले उग्ररुप लिएको छ । होलीमा रमाइरहेको अवस्थामा यूवाहरु बिच भएको झडप एक्कासी यूद्ध मैदानमा रुपान्तरण भएको थियो । बल्देधुरीमा प्रत्येक वर्ष होलीका दिन त्यहाँ नाचगान हुन्छ । त्यहाँ सधै झगडा हुने गर्दछ। आइतबार पनि बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर १० का युवाहरुको समूह त्यहाँ होली खेल्नका लागि बल्देधुरी चौरमा पुुगेको थियो ।

यता निसिखोला गाउँपालिका–७ राजकुटका करिब २५ जना युवाहरुको समूह पनि मदिरा सेवन गरेर विभिन्न व्यक्तिहरुलाई अबिर दल्दै बडिगाड गाउँपालिका–१० दर्लिङ हुँदै बल्देधुरीतर्फ जाँदै थिए । राजकुटका युवाहरुको समूह आफ्नो गाउँमा आएर आफ्नै युवाहरुलाई कुटपिट गर्न थालेपछि दर्लिङका स्थानीयहरु आक्रोशित थिए ।

उनीहरु बिचमा विगतमा पनि झगडा हुने गरेको थियो । यूवाहरु बिच पटकपटक झगडा हुने ठाउँमा भेला भएको र रंग लगाएको विषयले यूद्धमैदान बनेको थियो । यता, राजकुटका युवाहरुको समूह दर्लिङ गाउँ हुँदै बल्देधुरी चौरमा पुगे जहाँ दर्लिङका युवायुवतीको समूह पहिलेदेखि नै होलीका क्रममा नाचगान गरिरहेका थिए ।

राजकुटका युवाहरुको समूह बल्देधूरी पुगेपछि दर्लिङका युवा तथा युवतीहरूलाई अबिर दल्न थाले । युवतीहरूलाई सहमतिबिना अभद्र किसिमले जबरजस्ती अबिर दल्न थालेपछि त्यहाँ विवाद सुरु भयो । दुबै समूहका अधिकांश युवाहरुले मदिरासमेत सेवन गरेका थिए जसले विवादले झनै उग्ररूप लिन पुग्यो ।

राजकुटका युवाहरुको समूह आफ्नो गाउँमा आएर आफ्नै चेलीबेटीलाई अभद्र व्यवहार गरेको सुनेपछि दर्लिङका गाउँलेहरु भेला भएर बल्देधुरी पुगे । त्यसपछि दुबै समूहका युवा र गाउँलेबीच झडप भयो ।

सो झडपमा निसिखोला गाउँपालिका–७ राजकुटका युवाहरुलाई छानीछानी कुटपिट गरियो । केही युवाहरु त्यहाँबाट भागे । युवाहरुलाई मरणासन्न हुनेगरी कुटपिट गरेपछि राजकोटका दुईजना युवाहरु ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाईलाई बल्देधुरी चौरको भीरबाट फालियो । दुवै युवाको मृत्यु भयो ।

युवाविहीन छ दर्लिङ 

अपरान्ह करिब ४ बजे दुई जनाको मृत्यु भएपछि दुबै समूहका युवाहरु तितरबितर भए । घटनाबारे प्रहरीलाई जानकारी आएपछि करिब साँझ ७ बजे स्थानीय प्रहरी घटनास्थलमा पुग्यो । घटनास्थल स्थानीय प्रहरी चौकीबाट सवारीसाधनबाट करिब ३ घण्टाको दूरीमा पर्छ भने जिल्ला सदरमुकामबाट करिब ७ घण्टाको यात्रामा पुग्न सकिन्छ। जिल्ला प्रहरी कार्यालयको टोलीपनि राति करिब ११ बजे घटनास्थल पुुगेको थियो ।

घटनास्थल पुगेर राती करिब १ बजे भीरबाट फालिएका युवाहरुको उद्धार गरिएको थियो, जतिबेला उनीहरुको मृत्यु भइसकेको बागलङुका एसपी कृष्ण बहादुर पल्लीमगरले बताएका छन् । उद्धारपछि युवाहरुको शव स्थानीय स्वास्थ्य चौकीमा राखिएको छ ।

घटनालगत्तै बडिगाड गाउँपालिका १० दर्लिङ गाउँका युवाहरु फरार भएका छन् ।राति घटनास्थलमा पुग्दा गाउँ नजिकैको जङ्गलमा बत्ती बलेको देखिएको थियो।यतिबेलासम्म घटनामा संलग्न कसैलाई पनि पक्राउ गरिएको छैन र घटनाबारे बुझ्ने काम भइरहेको छ । रातोपाटीको सहयोगमा

Leave a Reply