बाग्लुङमा आइतबार ‘ग्याङ फाइट’ हुँदा भिरबाट फालिएका प्रकाश कुँवर र दीपक परियारको ज्यान गयो। त्यही भिरबाट फालिएका तिलक कुँवरले भने एउटा रूखबाट लत्रेको लहरा समातेर आफ्नो ज्यान जोगाए।

बाग्लुङ निसिखोला- ७, राजकुतका तिलक अहिले काकाको बरखीमा छन्। रङ लगाउन नहुने भए पनि उनी साथीहरूसँग फागु खेल्न निस्किएका थिए। त्यही क्रममा बाग्लुङ, प्युठान र गुल्मी जिल्ला छुट्याउने बल्देधुरी लेक जाने कुरा भयो।

राजकुतका २४ जना युवा एक घन्टा गाडी र झन्डै डेढ घन्टा पैदल हिँडेर भिरको बाटो बल्देधुरी चढे।

डाँडा उक्लेपछि चउर आउँछ। उनीहरू त्यही चउरमा आ-आफ्नो इच्छाअनुसार छरिएर रमाइलो गर्दै बसे। तिलक र उनका केही साथी चउरकै सानो थुम्कोमाथि बसेर अरूले फागु खेलेको हेर्दै थिए। अलिक तल तिलकका भतिज पर्नेले एक युवतीलाई अबिर लगाइदिएछन्।

तिलकका अनुसार, युवतीसँगै हिँडेका युवाले रिसाउँदै सोधे, ‘किन अबिर लगाइदिएको?’ ‘होलीमा अबिर लगाइदिँदा गाली गर्नुपर्छ त?’  तिलकका भतिज पर्नेले जवाफ दिए।भनाभन बढ्न थाल्यो।

भनाभन भएको राजकुतका अरू युवालाई थाहै थिएन। सबै आ-आफ्नै धुनमा मग्न थिए। कुनै अप्रिय घटना होला भनेर उनीहरूले सोचेका पनि थिएनन्।  बल्देधुरीमा बडीगाड गाउँपालिका- १०, दर्लिङका युवाहरू पनि आएका थिए। दर्लिङ बल्देधुरी नजिकैको गाउँ हो। ती युवायुवती पनि दर्लिङकै रहेछन्।

दर्लिङका युवाले राजकुतका अर्का युवा दीपक परियारलाई घेरा हालेर कुटपिट गरेछन्। यो घटना तिलक र अरू केही साथीले पछि मात्र थाहा पाए। उनीहरू तल झरेर किन यसो गरेको भन्दै दर्लिङका युवालाई सोधे। युवतीसँगै रहेका युवा दौडिएर गाउँका अरूलाई बोलाएछन्।

हेर्दाहेर्दै दर्लिङका झन्डै ५०/६० जना युवा मैदानमा आएको तिलक बताउँछन्। ‘उनीहरूले राजकुतका युवालाई पिट्दै चउरको डिलबाट फाल्न थाले। सुरूमा ज्ञानु नेपाली र रेशम नेपालीलाई पिटेर फालिदिए। त्यसपछि दीपक परियारलाई पनि त्यही डिलबाट धकेलिदिए। उनको घटनास्थलमै ज्यान गयो। म डिलबाट तल हेर्न जाँदा मलाई पनि लात्तीले हाने र त्यही भिरबाट फालिदिए,’ तिलकले भने।

भिरबाट खस्दै गर्दा तिलक एउटा लहरामा पुगेर अड्किएछन्। एउटा रूखको टुप्पाबाट भुइँमा लत्रिएको लहरा रहेछ त्यो। उनको प्राण त्यही लहरामा झुन्डियो। उनले लहराबाट रूखको एउटा हाँगा समाते। उनले समाएकै हाँगा भाँचियो। फेरि उनले लहराकै सहारा लिए। त्यही लहरामा अड्किएर उनले उता चउरमा भइरहेको आक्रमण हेरे। तर चउरकाले उनलाई देख्न सकेनन्।

‘मलाई देखेका भए ढुंगाले हानेर मार्थे,’ उनले भने, ‘भिरबाट खसालेकालाई त माथिबाट ढुंगा गुल्टाए भने मलाई के बाँकी राख्थे र!’

उनले अगाडि भने, ‘प्रकाश कुँवरलाई भिरबाट फालेपछि बल्ल उनीहरू थामिए। उनीहरू चउरबाट गएपछि मात्र म भिरबाट निस्किन पाएँ। आधी घन्टाभन्दा बढी समय त्यसरी नै लहरामा अड्किएर बसेँ। एकैठाउँ कच्याककुचुक भएर बस्दा मलाई एकदमै डर लागेको थियो। लहरा चुँडियो भने पनि मर्छु, उनीहरूले देख्यो भने पनि मर्छु जस्तो लाग्थ्यो। तल हेर्दा मुटु नै सिरिङ्ग हुने भिर थियो।’

उक्त घटनामा घाइते ज्ञानु नेपालीलाई बुर्तिबाङस्थित प्राथमिक उपचार केन्द्रमा प्रारम्भिक उपचार गरेर पाल्पा रेफर गरिएको छ। रेशमको भने बाग्लुङमै उपचार भइरहेको छ।

तिलकले नै लहराबाट निस्किएपछि प्रहरीलाई खबर गरेका थिए। उनका अनुसार यो घटनामा पाँच जनाभन्दा बढी घाइते छन्। बाटो छेकेर कुटपिट गर्न थालेपछि कसैले जंगलतिर भागेर ज्यान जोगाएको उनी बताउँछन्।

घटनाको छानबिन गर्न बुर्तिबाङ र जिल्ला प्रहरी कार्यालय बाग्लुङको टोली घटनास्थल पुगिसकेको छ। दर्लिङमा एक जना पनि युवा नभेटिएपछि गुल्मी र प्युठान निस्कने बाटो बन्द गरेर जाँच गरिरहेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न युवाहरू त्यही जंगलमा लुकेको हुन सक्ने प्रहरीले शंका गरेको छ।

झगडा छुट्याउँदा–छुट्याउँदै हत्या

तिलकका अनुसार मृतक प्रकाश कुँवरले बल्देधुरीमा आइतबार भएको झडप रोक्न खोजेका थिए। आफ्नो चिनजानका झनबहादुर बुढासँग झडप रोक्न उनले आग्रह गरेका थिए।

त्यो झगडामा दर्लिङका युवाले गरिरहेको कुटपिट र भिरबाट मान्छे फाल्दै गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल छ। त्यो छोटो भिडियोमा पनि प्रकाशले झगडा रोक्न र छुट्याउन पहल गरेको देखिन्छ।

‘यो रोक्नुस्, यस्तो नगर्नुस्, तपाईं-हामी झगडा गरेर के हुन्छ? पछि ठूलो केसमात्र हुन्छ,’ प्रकाशले भनेको तिलक सम्झन्छन्।

दर्लिङ र राजकुतका युवाहरूबीच पहिले पनि यस्ता झडप नभएका होइनन्। तर ज्यानै जाने गरी यति ठूलो घटना भएको थिएन। यसअघि एकअर्काको गाउँमा भलिबल खेल्न जाँदा वा अरू जमघटमा झडप हुने गरेको तिलकको भनाइ छ।

स्थानीयका अनुसार विगतमा बल्देधुरी लेक भोगचलनका विषयमा पनि राजकुत र दर्लिङ गाउँबीच मनमुटाव थियो।

निसिखोला-७, राजकुतका वडाध्यक्ष तेजेन्द्रविक्रम कुँवरले मृतक र घाइतेलाई खुकुरीदेखि लाठी र ढुंगाले हानेको चोट देखिएको बताए। मृतक प्रकाश कुँवर वडाध्यक्ष तेजेन्द्रकै भतिज हुन्।

उनले प्रकाश र दीपकको शव पोष्टमार्टम गर्न दिने तर घटनामा संलग्नलाई पक्राउ नगरेसम्म शव नबुझ्ने बताएका छन्।

‘यति ठूलो अपराध भएको छ, अहिलेसम्म एक जना पनि पक्राउ परेको छैन,’ उनले भने, ‘यस्तो अवस्थामा हामी शव बुझेर दाहसंस्कार गर्न सक्दैनौं।’

प्रकाश कुँवर नेपाली कांग्रेसका जिल्ला सदस्य हुन्। गत स्थानीय निर्वाचनमा निसिखोला गाउँपालिका अध्यक्षमा कांग्रेसले टिकट नदिएपछि उनी बागी उम्मेदवार बनेका थिए। उनका श्रीमती, दुई छोरा र एक छोरी छन्।

अर्का मृतक दीपक परियार झन्डै आठ महिनाअघि मात्र मलेसियाबाट फर्केका थिए। आमा बितेर नेपाल आएका उनी तत्काल विदेश नजाने योजनामा थिए। उनको परिवारमा बुबा, श्रीमती, एक छोरा र एक छोरी छन्। उनका बुवा प्यारालाइसिसका बिरामी छन्। Source: setopati.com

Leave a Reply