बागलुङ बडिगाड गाउँपालिका १० दलिङमा होली पूर्णिमाकै दिन बर्षेनि मेला लाग्थ्यो । मेलास्थल बागलुङ, प्युठान र गल्मीको सीमाना भएकाले सबैतिरबाट मेला भर्न आउँथे । उचाइमा रहेकाले मेलास्थलको वरिपरि भीर छ ।

आइतबार पनि दर्लिङमा बडिगाडबासी मेलामा रमाइरहेका थिए । गत वर्ष कोरोना महामारीका कारण खुलेर रमाउन नपाएका कारण पनि उनीहरु यस वर्ष उनीहरुका लागि ठूलो अवसर थियो ।

साँझ करिब ४ बजेतिर गाउँमा एउटा हुल प्रवेश गर्छ । मेलामा रमाइरहेका स्थानीयलाई जबर्जस्ती रङ दल्न खोज्छन् । त्यसपछि आक्रोशित बनेका स्थानीय युवा र मेलामा आएका ती युवाबीच विवाद हुन्छ ।

बडिगाड गाउँपालिकाकी युवतीलाई इच्छाविपरित रङ दलिदिएपछि सुरु भएको विवाद पछि झडपमा परिणत हुन्छ । झडपमा परी २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा निसी खोला गाउँपालिकाका ३६ वर्षीय प्रकाश कुँवर र सोही ठाउँका २९ वर्षीय दीपक दमाई छन् ।

उनीहरुको शब मेलास्थल नजिकै रहेको भीरबाट करिब ५ सय मिटर तल भेटिएको थियो । उनीहरुसँगै मेला भर्न गएका निसीखोलाका केही युवा सुरुमा सम्पर्कविहीन भएपनि अहिले सबै सम्पर्कमा आइसकेको निसीखोला गाउँपालिका ७ वडाध्यक्ष तेजेन्द्र कुँवरले जानकारी दिए ।

घाइतेमध्ये एकजनाको घाइतेमध्ये जनाएको अवस्था गम्भीर रहेको बताइएको छ । अन्य ५ जनाको शरिरमा निलडाम र विभिन्न स्थानमा साना चोट लागेको छ । गम्भीर घाइते भएका स्थानीय ज्ञानु परियारको भने बुर्तिबाङमा उपचार भइरहेको छ ।

अन्यको प्राथमिक उपचारपछि डिस्चार्ज भइसकेका छन् ।घटनाबारे स्थलगत जानकारी लिन जिल्ला प्रहरी कार्यालय बागलुङको टोली घटनास्थल पुगेको छ । प्रारम्भिक अनुसन्धानमा मृतक पक्षले नै बडिगाडका स्थानीय युवतीलाई रङ लगाइदिएको र त्यसैबाट विवाद सुरु भएको जिल्ला प्रहरी कार्यालय बागलुङ प्रमुख एसपी कृष्णबहादुर पल्ली मगरले जानकारी दिएका छन् ।

‘बडिगाड गाउँपालिकाका युवतीलाई रङ दल्न थालेपछि घटनाले यस्तो रुप लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ जिल्ला प्रहरी कार्यालय बागलुङ प्रमुख एसपी कृष्णबहादुर पल्ली मगरले ढोरपाटनसँग भने, ‘रङ मृतक पक्षले लगाइदिएको खुलेको छ ।’

घटनाका घाइते भन्छन् : लहरोमा अड्किएर ज्यान बच्यो
घटनामा घाइते भएका तिलक कुँवरले छापामार शैलीमा आएर पिट्दै भीरबाट फालेको बताए । उनले दर्लिङका झन्डै दर्लिङका झण्डै ५०÷६० जना युवा मैदानमा उत्रिएको सुनाए । साथीहरुलाई कुट्दै भीरबाट फाल्दा पनि आफूलाई त्यहाँ भीर छ भन्ने नै थाहा नभएको उनले बताए ।

‘मलाई के फिल भयो भने पिटेर यहाँबाट भागून् भनेर फाल्देको हो कि, हेर्न जान मन लाग्यो,’ उनले भने, ‘हेर्न जाँदा मलाई पनि लात्तीले हाने र त्यही भीरबाट फालिदिए ।’ भीरबाट खस्दै गर्दा एउटा लहरोमा अड्किएको र ज्यान जोगिएको उनले बताए ।

आफू त्यहाँ आधा घन्टाभन्दा बढी समय अड्किएको बताए ।‘त्यो क्षण एकदम डरलागेको थियो । एकै ठाउँमा कच्याककुचुक भएर बसें । लहरा चुँडियो भने पनि मर्छु, उनीहरुले देख्यो भने पनि मर्छु । तल हेर्दा मुटु नै सिरिङ्ग हुने भिर थियो । मान्छे फालेको देखिराछु, ढुङ्गाले हानिराखेका थिए,’ तिलकले त्यो क्षण सम्झिए ।

निसी खोला गाउँपालिका भन्छ : योजनाबद्ध तरिकाले घटना घटाइयो !
होलीविशेष मेलामा झडपपछि मृत्यु भएका ३६ वर्षीय कुँवर नेपाली कांग्रेसका क्रियाशील कार्यकर्तासमेत हुन् । उनी नेपाली कांग्रेसको जिल्ला कार्यसमिति सदस्य हुन् भने सोही घटनामा मृत्यु भएका दमाई पनि कांग्रेस कार्यकर्ता नै हुन् ।

घटनामा आफ्ना कार्यकर्ता मारिएको भन्दै नेपाली कांग्रेसले दोषीलाई कारबाही गर्न विज्ञप्ति नै जारी गरिसकेको छ। निसीखोला गाउँपालिका ७ वडाध्यक्ष तेजेन्द्र कुँवर पनि बडिगाड गाउँपालिकाका युवाले योजनाबद्ध तरिकाले घटाएको आरोप लगाएका छन् ।

‘त्यहाँ सधैं होली खेल्ने चलन थियो । यसपालि पनि त्यही हो,’ निसीखोला ७ वडाध्यक्ष तेजेन्द्रविक्रम कुँवरले ढोरपाटनसँग भने, ‘हिजो (आइतबार)ं ४ बजेको घटना एकदमै योजनाबद्ध तरिकाले घटाइएको हो ।’

कुँवरले मृतक टोलीले युवतीलाई जबर्जस्ती रङ लगाइदिएको र मदिरा पान गरेको कुरासमेत आफूलाई थाहा नभएको बताए । युवतीलाई रङ दल्न थालेपछि विवाद सुरु भएको हो रे नि ? भन्ने प्रश्नमा उनले भने, ‘युवती भन्ने थाहा भएन । केटाकेटाचाहिँ होली खेलेका हुन् ।’

बडिगाड गाउँपालिका भन्छ ः युवतीलाई जबर्जस्ती रङ दल्न थालेपछि घटना घट्यो !बडिगाड गाउँपालिकाले भने निसी खोला गाउँपालिकाकै युवा दोषी भएको आरोप लगाएको छ । बडिगाड ७ वडाध्यक्ष वीरेन्द्र बुढामगरले निसी खोलाका युवा मदिरासेवन गरेर स्थानीय युवतीलाई जबर्जस्ती रङ दल्न थालेपछि घटना घटेको दाबी गरेको छ ।

‘हिजो (आइतबार) दोहोरो झडप भएको हो । होलीमामात्रै मेला लाग्ने भएकाले बेनी बागलुङ सबै ठाउँका मान्छे आएका थिए,’ वडाध्यक्ष मगरले ढोरपाटनसँग भने, ‘उनीहरु रक्सी खाएर आएका थिए । उनीहरुले युवतीलाई जबर्जस्ती होली दल्न थालेपछि घटना घटेको हो ।’

गाउँका सबै युवा फरार !
गाउँपालिकामा घटना घटेपछि अहिले प्रहरीले घटनामा संलग्न आरोपीको खोजी तीव्र पारेको छ । घटनाका मुख्य आरोपीहरुको पहिचान भइसकेको तर, ती सबै फरार रहेको जिल्ला प्रहरी कार्यालय बागलुङ प्रमुख एसपी कृष्णबहादुर पल्लीमगरले जानकारी दिए ।‘घटनामा संलग्नको पहिचान भइसकेको छ । नियन्त्रणमा लिन गाउँमा टोली परिचालन भइसकेको छ,’ एसपी मगरले भने, ‘अहिले गाउँका सबै युवा सम्पर्कबाहिर छन् ।’

परिवारले शव बुझ्न मानेन, भन्यो ः नियोजित

घटना नियोजित घटेको भन्दै मृतक कुँवरकी पत्नी बिनु कुँवरसहितका स्थानीयले इलाका प्रहरी कार्यालय बुर्तिबाङमा किटानी जाहेरीसमेत दिएका छन् । प्रहरीले भने अहिले सम्म घटनामा संलग्नलाई पक्राउ गरेको छैन । सिंगो गाउँगाउँकै झडपजस्तो देखिएकोले प्रहरी र प्रशासनले संयम अपनाएर कारवाही अगाडि बढाउने सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र पौडेलले जानकारी दिए ।

घटनामा मृत्यु भएका कुँवर र दमाईको प्राथमिक उपचार केन्द्र बुर्तिवाङमा पोष्टमार्टम गरिएको हो । तर, परिवारका सदस्यले हत्याका दोषी पक्राउ नगरेसम्म शव नबुझ्ने अडान लिएका छन् । उनीहरुले पीडितले शव दोषी पत्ता लगाउन माग पनि गरेका छन् । घटनापछि बुर्तिबाङ क्षेत्रमा सोमबार दिनभरि नै तनावग्रस्त बनेको स्थानीयले बताए ।

प्रत्यक्षदर्शी भन्छन् : अप्ठेरो भीरमा झगडा गरेका थिए
घटनाबारे जानकारी लिन गाउँमा प्रहरी परिचालित भएपछि सबै मेला भर्न गएका प्रत्यक्षदर्शीहरु सबै सम्पर्कबाहिर छन् । सोमबार ढोरपाटनसँग सम्पर्कमा आएका ती प्रत्यक्षदर्र्शीले घटनालाई राजनीतिको रुप दिन खोजे पनि आफूलाई त्यस्तो नलागेको बताएका छन् ।

नाम नखुलाउने शर्तमा निसीखोला ७ राजकुटका ती प्रत्यक्षदर्शीले भने, ‘घटनालाई मिडियाले राजनीतिक रुप दिन खोजिरहेका छन् । तर, मेरो विचारमाचाहिँ त्यस्तो होइन । मेलाबाटै सुरु भएको हो ।’

प्रत्यक्षदर्शीको भनाइ
मेला भर्न हामी १२ बजेतिर त्यहाँ पुगेका थियौं । त्यहाँ ठूलो लेक छ । लेकको टुप्पोमा सम्म (समथर) मैदान छ । त्यहीं मेला लाग्ने हो । त्यहाँ वरिपरि हजारौं मिटर अग्ला भीर पनि छन् ।

त्यहाँबाट हाम्रो घर फर्किन लगभग २ घन्टाको आरोलो झर्नुपर्छ । घर फर्किने भनेर हतारमा थियौं । त्यही मेलामा १२÷१३ जनाको टोलीले एउटा मान्छेलाई धेकेल्दै हिँडेको मैले पनि देखेको हो । उनी को हुन् मैले चिनिनँ ।
धकेल्दै अराजक शैलीमा हिँडेका हाम्रै गाउँका साथीहरु थिए । रोक्न पनि खोजेको हो । तर, कहाँ सुनुवाइ हुन्छ र ?

ठ्याक्कै घटना त मैले पनि आँखाले देख्दै देखिनँ । खुला सम्म मैदानमा झगडा नगएर उनीहरु भीरतिर गएछन् के ! मेलाको तल्तिर अल्लि डरलाग्दो भीर छ । उनीहरु त्यही अप्ठेरो ठाउँमा आएर झगडा गरेछन् ।
त्यहाँ हामी जंगलको बाटो हिँडेर गएका थियौं । अलि तल्तिर मोटरबाटो पनि छ ।

हामी हिँडेर आउने भएपछि जंगलकै बाटो आयौं । फेरि राजकुटकै भनेपछि हामी पनि असुरक्षित नै थियौं । तल मोटरबाटोबाट आउनेलाई बाटो ढुकेर समाउँदै फेरि पनि कुटेको भन्ने कुरा आयो । हामीले पछिमात्रै थाहा पायौं ।
हामीचाहिँ त्यहाँ ५/६ जनाको टोली गएका थियौं । यो घटनालाई मिडियाले राजनीतिक रुप दिन खोजिरहेका छन् । तर, मेरो विचारमाचाहिँ त्यस्तो होइन । मेलाबाटै सुरु भएको हो । Source:dhorpatannews.com

Leave a Reply