“बेनीको बजार“ गित मात्र होईन ! जुन समयमा बुटवल सम्म गाडी आएको थियो । म्याग्दीका मानिसहरुलाई घर कहाँ हो भन्दा बाग्लुङ भन्थेरे । कारण म्याग्दी भनीहालेमा कहाँ पर्छ ? कहाँ , के किन कसरी जस्ता पुरक प्रश्नको उत्तर दिने झन्झट ! बागलुङ भन्यो – काम खत्तम !जब बेनीको बजार गित बजारमा आयो चर्चित मात्र भएन, जनजिव्रोमा मात्र झुण्डिएर, म्याग्दीलाई चिनाउने पहिचान बन्यो ।

के यात्रा, के वनभोज, के मेला , के महोत्सव – यो गित विना अधुरो बन्यो अपुरो बन्यो ।“बेनीको बजार“ पहिचान मात्र बनेन !जुन समयमा बेनीको गित रेकर्ड भयो । सहज भने थिएन । म्याग्दीको मान्छे काठमाडौं पुग्नु सपना जस्तै थियो । त्यस माथि पनि गायिका मनकुमारी छन्त्याल म्याग्दीको दुर्गम कुईनेमंगले जन्मेकी महिला थिईन ।

विनय श्रेष्ठ

घाँस दाउरामा सिमित, गित गाउदा उत्ताउलो मान्ने समाज, महिला मान्छे काठमाण्डौ गएर गित गाउनु क्रान्तिकारी कदम थियो । गितको अन्तरामा रहेको “खुर्सानी लुरुरु–आमा सम्झी रुन्छ मन धुरुरु, नदिनु सराप–एउटा छोरी भएनी खराव, खोलीमा नगए–सम्झिएर रुने काम नगरे, रुमाल धुदैछु–आमालाई सम्झेर रुदैछु, तारालाई गन्दिन–आमा छन्जेल केही पिर मान्दिन….“ टुक्काहरुले पनि सायद यहि प्रमाणित गर्दछ ।

श्रेष्ठ सर्जक मात्र होईनन् ।गितका सर्जक महिलालाई काठमाडौ लगेर क्रान्तिकारी कदम मात्र उठाएनन् तत्कालिन समय अन्तर जातिय विवाह गरि परिवर्तनको झिल्को समाजलाई दिन सफल व्यक्ति पनि हुन ।यहि म्याग्दीको पहिचान बनेको “बेनीको बजार , जतामाया उतैछ नजर, किरेमिरे जालेरुमाल“ का सर्जक टीका बहादुर श्रेष्ठलाई गत हप्ता गुमाएकाछौं ।

मान्छे हो जन्मन्छ – मर्छ । अजम्बरी कोहि रहदैन । प्राकृतिक नियम हो मरे–ठुलो कुरा होईन । तर हामीले सधै पहिचान बनाउन प्रयोग गरेका गितका सर्जकलाई जिउँदै छदै उचित कदर गरेनौं कि ? सम्मान गरेनौं कि ? योगदानको कदर गरेनौं कि ? प्रश्न यहि नीर छ ।

पछिल्लो समय सर्जक स्वर्गीय श्रेष्ठ बुटवल बसोबास गर्दै आएका थिए । केही संघसंस्थाले सम्मानित र पुरस्कृत गरेकै हो । काफि थिए ? बेनीको बजार रिमिक्स गितको रुपमा पनि बजारमा आयो, चर्चित बन्यो तर उहाँ संग थप सिर्जनाहरू पनि थिए कि ?

ध्यान किन दिईएन् ? उहाँ विरामी भै ओछ्यान पर्दा कुन कुन कलाकार भेट्न गए ? नेपाली मुलका भारती प्रशान्त तामाङ ईन्डियन आईडल बन्दा राति बाह्र बजे नारा लाउने नेपालीहरु क–कस्ले सिघ्र स्वास्थ्य लाभको कामना ग¥यौं ? कलाकारको नाम बेचेर कलाकारको उत्थानन गर्छु भन्दै अक्षय कोष थुपारेका प्रतिष्ठान र संघहरू कता हराए ? स्वास्थ्य उपचारका लागि कति सहयोग गरे ? सरकार कहाँ छ ? उत्तर कस्ले दिने ?

याद गर्नुस् ’ बाजेबजै फोले पनि “डोको“ नफाल्नुस् “ भन्ने डोको कथा जस्तै नबनोस् कसैको योगदान ।

नत्र भोलिको पुस्तालाई कसरी अग्रसर बनाउने ?म्याग्दीलाई लोकगित– संगीत मार्फत चिनाउने र तत्कालीन अवस्थामा एल्बम (क्यासेट ) निकाल्ले अग्रज कलाकारहरूको स्मारिका मार्फत विस्तृत विवरण निकाल्ने कस्ले ? काजु शेरचन, टिकाबहादुर श्रेष्ठ, मनकुमारी छन्त्याल श्रेष्ठ, खड्ग गर्बुजा, वीरबहादुर कार्की, धनकुमारी पुन, नरबहादुर विसी, सञ्जयकुमार श्रेष्ठ, प्रदिप श्रेष्ठ, डम्बर पुर्जा जस्ता कलाकारहरू त्यस्तै देशका शिर्ष व्यक्तित्व आगमन हुँदा स्वागत गित रच्ने गाउने स्व. लक्ष्मीप्रसाद श्रेष्ठ, स्व. ओमबहादुर वोगटी, अंगद श्रेष्ठ, अविरकुमार श्रेष्ठ त्यस्तै मेला महोत्सवमा गित गाउने तथा निर्णायकको भुमिका निभाउने नेत्र बहादुर महत, कृष्णदत्त पौडेल, प्रकाश कुमार श्रेष्ठ, राजेन्द्रकुमार श्रेष्ठ, हरि पौडेल लगायत अग्रज कलाकारको योगदानको चर्चा भएमा, उचित कदर भएमा, सम्मान र पुरस्कार प्रदान गरेमा मात्र दोश्रो पुस्तालाई हौसला र नयाँ पुस्तालाई मार्ग दर्शन हुनेछ ।

अनिमात्र हालको पुस्तालाई पनि भावी पुस्तालाई सम्मान गर्नेछ । होइन भने टीकाबहादुरहरू जन्मिन्छन्–मर्छन् । मरेपछि फेसबुक भरेर कुनै अर्थ छैन । आज मर्याे – भोलि दुई दिन जस्तो नहोस् । खोलो तर्याे – र्लाैरो बिर्साे ग¥यौं भने ईतिहासले धिक्कार्ला । टीकाबहादुरलाई जिउँदै हुदा केही गर्न सक्यौं नत मरेपछि । टीकाबहादुरलाई त बिर्सियौं–गुमायौं तर बेलैमा सबैको चेत खुलोस् ।

Leave a Reply