मिलन–बिछोड
हाँसो–रोदन
प्रमाण हो
तिमी जीवितै छौं भन्ने कुराको
बतासले केवल ती हाँगा हल्लायँछन्
जो जीवन्त छन्
मरिसकेका छैनन् ।
– जलाजुद्दीन रुमी
मनुष्यको जिन्दगी मरणशिल छ । हरेक जन्मसँग मृत्यु जोडिएर आएको हुन्छ । त्यस मृत्युलाई चाहेर पनि अलग गर्न सकिँदैन । किनकि जन्मपछि मृत्यु शास्वत सत्य छ । जन्मपछि मृत्यु,मिलन पछि बिछोड, सुख पछि दुःख, हाँसो पछि रोदन यी दुवै स्थिति परिस्थिति जीवन चक्रको साथ साथमा चलिरहन्छ । प्रकृतिको यस नियमलाई कसैले उल्लंघन गर्न सकिँदैन ।

यसर्थ हरेकको जिन्दगीले एक दिन यस घर्तीबाट बिदा लिन्छ । यहाँ फरक यति मात्र छ, कोही मरेर पनि बाँचिरहेका हुन्छन् भने कोही बाँचेर पनि जिउँदो मुर्दा घिसारेर हिंडेका हुन्छन् ।यहाँ यस्तै व्यक्तित्व हुन् स्वर्गीय लोकप्रिय गायक तथा सर्जक टीकाबहादुर श्रेष्ठ ।

नविन जुग्जाली

जसले ‘बेनीको बजार जता माया उतै छ नजर, किरेमिरे जाले रुमाल’ बोलको गीतलाई रचना गरी २०३१ सालमा रेडियो नेपालमा रेकर्ड गरेपछि म्याग्दीको सदरमुकाम बेनीबजारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिरुपमा चिनाउन सफल भएका श्रेष्ठले वि.सं. २०१९ साल फाल्गुन ७ गते प्रजातन्त्र दिवसका दिन काठमाडौं राष्ट्रिय नाचघरमा पहिलो पटक ‘बेनीको बजार, जता माया उतै छ नजर….’ बोलको गीत गाएर नेपालका १४ अञ्चलबाट आएका कलाकारहरुलाई पछाडि पार्दै श्रेष्ठ र श्रेष्ठका धर्मपत्नी मन छन्त्यालका दम्पत्ति उत्कृष्ट भएका थिए । त्यसपछि सोही गीत वि.सं. २०३१ सालमा रेडियो नेपालमा रेकर्ड गरिएको थियो ।

यसकारण स्वर्गीय श्रेष्ठको भौतिक शरीर मरेर चुपचाप रहे पनि उहाँका गीत रचना प्रत्येक नेपालीको जनजिब्रोमा गुञ्जिरहेको छ । श्रेष्ठको शरीर मृत्युसँगै मेटिएर गए पछि उहाँका गीत संगीत हरेक म्याग्देलीहरुको मनमष्तिष्कमा अमर भएका छन् । सायद जीवन हुनुको अर्थ र परिभाषा यस्तै हो भन्ने लाग्छ ।

Leave a Reply