पश्चिम म्याग्दीको दरबाङ बजार स्थित जनप्रिय माद्यामिक विद्यालय २०२४ सालमा स्थापना भएको जिल्लाकै पुरानो विद्यालय मध्यको एक हो ।

तात्कालिन स्थानीय बुद्धिजीवी तथा समाजसेवी शेरबहादुर शेरचनको सक्रियतामा स्थापित तथा संरक्षित सो विद्यालयको नामसंग जोडिएर आउने पर्यायवाची नाउँ हो बीरबहादुर कार्की । उनै शेरचनले स्कुलका लागि खोजेर ल्याएका हेडमाष्टर हुनुहुन्थ्यो कार्की ।

त्यतिबेला उहाँ भरखर बीए पास गरेको लक्का जवान हुनुहुन्थ्यो । करीव ३९ वर्ष अनवरत उक्त विद्यालयमा पढाउनुभई हाल निवृत्त शिक्षक कार्की हेडसरका नामले जिल्लाभरि चिनिनुहुन्छ ।म्याग्दीकै रत्नेचौर घर भएका हेडसर पुर्ख्यौली थातथलो छोडेर दरबाङ बजारमा घरजम बसाउनुभएको हो ।

आफ्नो सारा जिन्दगी दरबाङ बजारमा बिताउनुभएका ७१ बर्षिय हेडसर अहिले रोगले थलिनुभएको छ । मुखभित्र क्यान्सर भएको र सो अहिले पहिलो स्टेजमा रहेको उपचारमा संलग्न डाक्टरहरुले जानकारी दिएका छन् ।

हेडसर केवल १ थान हेडसर मात्रै नभएर बहुप्रतिभाशाली ब्यक्तित्व भएकै कारण उहाँको लोकप्रियता र ब्यक्तित्वले उचाई पाएको हो । साँस्कृतिक जागरणका अभियान्ता, लोक तथा दोहोरीगीत सँस्कृति प्रबर्द्धनका अगुवा, कुशल संगीत संयोजक तथा साधक, विद्यार्थीहरुका प्रेरणाका स्रोत, आकर्षक एवं वौद्धिक ब्यक्तित्व भएका उनै हेडसरबाट प्रभावित विद्यार्थीहरु कुनै न कुनै रुपले अहिले पनि उनीप्रतिको आकर्षण यथावतै पाईन्छ।

जनप्रिय हाइस्कुल नाम मात्रै जनप्रिय नभएर त्यस सेरोफेरोमा साँच्चिकै लोकप्रिय थियो । दरबाङ बजार त्यस भेग र क्षेत्रको सानो ब्यापारिक केन्द्र मात्र थिएन त्यहाँस्थित जनप्रिय हाइस्कुल तत्कालिन अवस्थामा शैक्षिक जागरण ल्याउने गौरवगाथा बोकेको एकेडेमिक अनुष्ठान थियो ।

त्यही अध्ययन गरेका र उनै हेडसरबाट दीक्षित विद्यार्थीहरु अहिले संसारका धेरै देशहरुमा पुगेर उन्नती, प्रगति गरेका छन् र देशभित्रै पनि महत्वपूर्ण जिम्मेवारीमा पुगेका छन् । तिनै विद्यार्थीहरु आफ्ना प्रिय गुरुको दुखेको घाउमा मलम जुटाउन संसारभरिबाट एकजुट भएका हुन् ।

यसै सन्दर्भमा हालै एक भर्च्युअल समारोहको आयोजना गरी जनप्रियका पूर्व विद्यार्थीहरुले आफ्ना सर्बप्रिय गुरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै आर्थिक सहयोग रकम हस्तान्तरण गरेका छन् । सो अवसरमा बेलायत, अमेरिका, जापान, दक्षिण कोरियामा रहेका पूर्व विद्यार्थीहरुले संकलन गरी पठाएको रकम २३ लाख ७५ हजार ३ सय ९६ रुपैंया हस्तान्तरण गरिएको हो ।

पूर्व विद्यार्थीहरुको तर्फबाट प्रतिनिधित्व गर्दै बेलायतबाट हाल नेपालमा रहेका प्रवेश केसीले उक्त रकम हस्तान्तरण गरेका हुन ।सो अवसरमा बोल्दै पूर्व विद्यार्थीहरु बेलायतबाट टंक तुलाचन, योगेन्द्र केसी, टंक शेरचन, पदम गुरुङ, साम गुरुङ, कृष्ण जुग्जाली,त्रिप्रसाद पुन यसैगरी जापानबाट तिलक मल्ल, बिष्णु बानियाँ, बिजया कार्की, दक्षिण कोरियाबाट किसान सेञ्चुरी, हाल नेपालमा रहेकी एनआरएनए आइसीसीकी उपाध्यक्ष समेत रहेकी रबिना केसी थापा, नेपालबाट चित्र पुन, शेरबहादुर बुढा लगायतले आफ्ना गुरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेका थिए ।

सो अवसरमा बोल्दै गुरु कार्कीले संसारभरि छरिएका आफ्ना पूर्व विद्यार्थीहरुबाट पाएको अपार मायाले आफुलाई रोगलाई परास्त गर्ने अदम्य साहस तथा उच्च मनोबल पैदा भएको धारणा ब्यक्त गर्नुभयो । उहाँले अगाडि भन्नुभयो – ’यहाँहरुको शुभेच्छाले अब छिट्टै निको भएर समाज र देशका लागि अझै केही योगदान गर्न सकूँ ।’ source: समुद्रपारि डट कम

Leave a Reply