उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा रहेको मिस्त्रीखोला जलविद्युत आयोजनामा १२ जना कोरोना संक्रमित भेटिएका छन् ।

यसअगाडी जलविद्युत आयोजनामै कार्यरत भारतीय मजदुरमा कोरोना पुष्टी भएपछि कन्ट्याक ट्रेसिङ्गमा परेका थप १२ जनाका कोरोना संक्रमणको पुष्टी भएको हो । छिमेकी राष्ट्र भारतसँगै तराईका जिल्लाबाट आएका मजदुरमा कोरोना पुष्टी भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।

मिस्त्रीखोला जलविद्युत आयोजनास्थलमा कार्यरत सबैजसो मजदुरलाई कोरोना संक्रमणको जोखिममा राखी ७६ जनाको स्वाब संकलन गरी परीक्षणका लागी पठाइएको थियो ।

‘नयाँ संक्रमित भेटिएको पुष्टी भएको छ,‘ संक्रमतिको संख्या हेर्दा अवस्था भयावह छ,‘बाहिरी जिल्लाबाट प्रवेश गर्ने मजदुरलाई अनिवार्य क्वारेन्टाइनमा राख्नुपर्छ’ प्रमुख लम्सालले भन्नुभयो ।

संक्रमतिमा लक्षण समेत भेटिएकाले थप सर्तकता अपनाउन समेत स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ । आयोजनास्थललाई सिल गर्न समेत स्थानीयले माग गरेका छन् ।

छिमेकी राष्ट्र भारतसँग सिमाना जोडिएका जिल्लाबाट ठूला विकास निर्माणका आयोजनामा काम गर्न आउने मजदुरलाई परीक्षणबिनै छोड्दा कोरोना संक्रमति भेटिन थालेको भन्दै जिल्ला प्रवेशमै कडाईको माग गरिएको छ।

नयाँ प्रकारको भाइरसको प्रकोप फैलिइएको आशंकामा विदेशबाट म्याग्दीमा आउने कामदार र घर फर्किएकाले अनिवार्य १० दिन क्वारेन्टाइनमा बस्नुपर्ने नियम बनाइएपनि कार्यान्वयन पक्ष कमजोर देखिएको छ ।

जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा बसेको बैठकले यसअगाडी विदेशबाट आउने मजदुर र लामो समयका लागि घर विदानमा आएकालाई १० दिन अनिवार्य क्वारेन्टाइनमा राखेर लक्षण नदेखिएपछि पठाउने निर्णय गरेको थियो ।

Leave a Reply