म्याग्दीको सदरमुकाम बेनीमा वायु प्रदूषणका कारण आँखा पोल्ने समस्या देखिन थालेको छ । केहीदिन यता देशैभरी वायु प्रदूषण बढेको र तुवाँलो लागेको अवस्थामा म्याग्दीको सदरमुकाम बेनीबजार आसपासका क्षेत्रमा बुधबार वायु प्रदूषण उच्च देखिएको अवस्थामा आँखा चिलाउने, बिझाउने, सुख्खा हुने, पोल्ने समस्याका बिरामी बढ्न थालेका छन् ।

वायु प्रदूषणका कारण मंगलबारसम्म सामान्य अवस्थामा रहेकोमा बुधबार आँखा उपचार केन्द्रमा समेत आँखा पोल्ने समस्या लिएर आउने बिरामी भेटिएको नेत्रज्योती संघ म्याग्दीद्धारा सञ्चालित आँखा उपचार केन्द्रक प्रमुख दिनेश बानियाँले बताउनुभयो ।

‘आँखा चिलाउने समस्या लिएर पाँचजना बिरामी आउनुभएको थियो,‘उहाँहरूको आँखामा कुनै समस्या नदेखिएपछि प्रदुषणकै कारण हुनसक्छ’ प्रमुख बानियाँले भन्नुभयो । नियमित आउने बिरामीभन्दा बुधबार आँखा पोल्ने समस्याका बिरामी आएको बताउँदै समान्य अवस्था भन्दा फरक रहेको आँखा उपचार केन्द्रले जनाएको छ।

त्यस्तै बेनी अस्पतालमा रहेको आँखा उपचार केन्द्र र पश्चिम म्याग्दीको दरबाङमा रहेको रेडक्रस सोसाईटीको आँखा केन्द्रमा समेत आँखा सम्बन्धि समस्या लिएर आएका बिरामीको संख्या सामान्य अवस्थामा भन्दा धेरै रहेको बताइएको छ ।

पछिल्लो तीनदिन यताकै तुलनामा सदरमुकाम बेनी आसपासको क्षेत्र तुवाँलो छपक्कै छोपेको छ । बन तथा वातावरण विभागका उपमहानिर्देशक एवम् प्रबक्ता इन्दुबिक्रम जोशीले  बेनीअनलाइनसँग कुराकानी गदैं काठमाण्डौ आसपासको क्षेत्रबाट फैलिएको ग्याँसका कारण आँखा पोल्ने समस्या देखिएको हुनसक्ने बताउनुभयो।

‘काठमाण्डौ क्षेत्रमा केही सुधार आएको छ,‘म्याग्दी जिल्लाको अवस्था मात्रै हेर्न मिल्दैन्,‘हामीले पोखरा बेस भएर हेर्ने गरेका छौ’ प्रबक्ता जोशीले भन्नुभयो । वायु प्रदूषणले जनस्वास्थ्यमा गम्भीर प्रभाव पर्न सक्ने भएकाले आँखा पोल्न थालेपछि अन्य औषधी प्रयोग नगरी सफा पानीले धुनुपर्ने प्रबक्ता जोशीको सुझाव छ ।

एक्यूआईमा केही सुधार आए पनि हानिकारक अवस्था टरिनसकेको अवस्थामा दम, थाँती लगायतका समस्या भएका बिरामी, बालबालिकालाई अत्यावश्यक काम परेमात्रै बाहिर जाने नत्र घरभित्रै बस्न समेत मन्त्रालयका प्रबक्ता जोशीले अनुरोध गर्नुभयो ।

‘आँखा पोल्ने समस्या विषाक्त हावाले हो,‘हेल्चेक्राई गर्दा पछि स्वास्थ्यमा समस्या देखिन सक्छ’ प्रबक्ता जोशीले थप्नुभयो । बुधबार दिउँसो पोखराको वायुको गुणस्तरको सूचकाङ्क (एक्यूआई) ९७.२८७ रहेको छ ।

यो अवस्थालाई समान्य लिन नसकिने बताउनुभयो । बुधबार दिउँसो २ बजे म्याग्दीको सदरमुकाम बेनीबजार आसपासको एक्यूआई ८७ भन्दा बढी मापन गरिएको थियो। यता बेनी अस्पतालका डा. नवराज बस्ताकोटीले वायु प्रदूषण सामान्य अवस्थामा नफर्किदासम्म सतर्कता अपनाउनुपर्ने बताउनुभयो ।

‘अहिलेको अवस्थामा सावधानी अपनाउनुपर्छ,‘ वायु प्रदूषणले बुढो मानिसहरूलाई बढी असर गर्ने अध्यायनले समेत देखाएको छ’ डा. बस्ताकोटीले भन्नुभयो । बुधबार दिउँसो पोखराको वायुको गुणस्तरको सूचकाङ्क (एक्यूआई) ९७.२८७ रहेको छ । यो अवस्थालाई समान्य लिन नसकिने विज्ञहरुको भनाई छ । बुधबार दिउँसो २ बजे म्याग्दीको सदरमुकाम बेनीबजार आसपासको एक्यूआई ८७ भन्दा बढी मापन गरिएको थियो।

 

Leave a Reply