बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ बल्देधुरीमा होली खेल्ने क्रममा भएको झडपपछि दुई जना युवकको ज्यान गएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले बुधबार दिउँसो ६ जनालाई पक्राउ गरेको छ ।

घटना घटेको चार दिन पछि गुल्मीबाट २ जना र ४ जना बागलुङबाट गरी ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गत आइतबार बागलुङको बडिगाड र निसीखोला गाउँपालिकाको सिमानामा पर्ने बलधुरेमा लागेको मेलामा झडप भएको थियो ।

घटनामा निसीखोला गाउँपालिका ७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक परियारको मृत्यु भएको थियो । झडपमा अन्य ६ जना घाइते भएका थिए । मृतकको शव घटनास्थलदेखि ४ सय मिटर तल भेटिएको थियो ।

घटना घटेपछि प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरको नेतृत्वमा ११ सदस्य र पोखराबाट सीआईबीको टोलीसमेत अनुसन्धानमा खटिएको थियो । हाल उक्त टोलीले घटनामा संलग्नको पहिचान गरिरहेको छ ।

प्रहरीका अनुसार अनुसन्धानको क्रम चलिरहेको र अहिले नै नाम सार्वजनिक गर्न सकिएको छैन । घटनाबारे समग्र अनुसन्धान सकिएपछि मात्रै दोषी सार्वजनिक गर्ने बताइएको छ ।

Leave a Reply