बि.सं. २००२ सालतिर पोखरामा औलो तथा झाडापखालाको प्रकोप निकै बढेको थियो । १९९० तिर खुलेको बिन्द्यवासिनी मन्दिर नजिकैको बैद्यखानाले बैद्य औषधीबाट उपचार गरिदै थियो । साथै तेर्सापट्टीका बैद्यहरुले पनि उपचार गरिरहेका थिए । तर रोग अझ ब्यापक भए पछि राणा बडाहाकिम धनशम्शेरले गाँउघरमा पाइने जडिबुटीबाट गरिने होमियोप्याथिकको बैद्य उपचार भन्दा भरपर्दो र बिश्वासिलो भन्दै आधुनिक उपचार पद्धती एलोपेथिक उपचार गर्न बैद्यखानाको शुरुवात गरे ।
रा
नीपौवा महेन्द्र बटालियन रहेको अहिलेको आर्मी ब्यारेक रहेको स्थानमा मिलिसिया अड्डा थियो । शुरुमा सैनिकहरु मिलिसिया नै भनिन्थ्यो । त्यहि खरको झुप्रोमा पोखराको पहिलो अस्पताल खोलिएको थियो । यस अस्पताल (बैद्यखाना)मा कम्पाउण्डरको रुपमा गणेशलाल रञ्जित पोखरा आएका थिए । सेनामा जागीरे गणेशलाल केही महिनाको तालिम पछि पोखरामा आइपुगेका थिए ।
पोखरामा कोही बिज्ञ नभएको समय वहाँ नै पोखराको पहिलो डाक्टर झै भएका थिए । उनले एलोपेथिक दवाइबाट उपचार गर्दथे । यस अस्पतालको शुरुवातको केही समय पछि बिसं २००४ सालमा काठमाडौका दयाविर सिंह कंसाकारले पोखरामा पनि परोपकार औषधालयको शाखा खोलेका थिए ।
बि.सं. २००६ सालको पौष तिरको कुरा त्यतिबेला औषधी बिभागमा डाइरेक्टर थिए मेजर जनरल सुरशम्शेर जङबहादुर राणा । यसै बेला अमेरिका स्थित “सिकागो नेचुरल हिस्ट्री म्यूजियम”को तर्फबाट नेपालमा डा. कार्ल इ टेलर आइ पुगेका थिए । नौतनवा हुदै नेपाल पसेका उनि केही समय पाल्पाको साइनिङ हस्पिटलमा सेवा गरे । तीन महिनाको नेपाल बसाइमा उनले पाल्पा पछि रिडी हुदै बलेवा बागलुङ हुदै जोमसोम सम्म पुगे भने त्यसपछि पोखरा आइपुगेका थिए ।
पोखरामा आइपुग्दा उनले पोखरामा अस्पतालको रुपमा रहेको चित्रमा देखाइएको साधारण खरको घरमा एक कम्पाउण्डरले सेवा गरिरहेको भेटे । केवल दुइ महिनाको साधारण तालिम प्राप्त गरेका ब्यक्ती नै अस्पतालका प्रमुख थिए । पोखराको केही समय बसाइका आधारमा डा. कार्ल इ टेलरले मेडिकल सर्भे अफ दि कालिगण्डकी एण्ड पोखरा भ्याली भनेर लेख नै तैयार पारेका थिए ।
करिव तीन महिनाको नेपाल बसाइमा डा. कार्ल इ टेलरले ८६६ बिरामीको उपचार गरेका थिए ।तस्विरमा देखिएका तथा कार्ल इ टेलरले भेटेका कम्पाउण्डर नै स्व. गणेशलाल रञ्जित हुनुहुन्थ्यो । तस्विरमा अस्पताल (बैद्यखाना) अगाडी उभिनु भएको वहाँ नै हुनुहुन्छ ।
यो अस्पताल हालको शोभाभगवतीको मन्दिर भन्दा उत्तर पूर्वमा रहेको थियो । यो अस्पतालको पश्चिममा आकाशवाणी अड्डा खुलेको थियो । जसलाई पछि दुरसञ्चार भनियो र महेन्द्रपुल हुलाकसंगै स्थापना गरियो । बिस्तारको क्रममा दुरसञ्चारलाई स्थानको अभावले फेरी रानीपौवामा दुरसञ्चारको कार्यालय राखियो ।
यहाँ प्रसंग खरको झुप्रोको रुपमा रहेको अस्पतालसंगै पूर्व तर्फ देखिएको पक्की घरको गर्न चाहन्छु । यो घरमा के थियो भन्ने जानकारी बटुल्न रानीपौवा पुग्दा हाल रहेका वयोबृद्धहरुबाट पनि कुनै जानकारी पाउन सकिन । तर मेरो अनुमानमा यो घर नै वास्तवमा रानीपौवा हुनुपर्छ । यो मेरो अनुमान मात्र हो । पक्की ढुङ्गाको छानो भएको घर ब्यक्तिगत हुन सक्दैन भन्ने लाग्छ ।
राजा रणबहादुर शाहकी रानीले पोखरा आगमनको समय यस स्थानमा पौवा बनाइदिएको हुँदा नै यो ठाँउको नाम रानीपौवा रहन गएको हो । अहिले रानीपौवाको कुनै निशानी पनि बाकी भेटिदैन । तर नाम भने अझै पनि प्रख्यात नै छ ।
अहिले रानीपौवामा वास्तविक रानीले बनाइदिएको पौवाको बारेमा जानकारी राख्ने ब्यक्तिहरु नै भेट्न सकिएन। पौवा भएको भन्ने जानकारी केहीलाई भए पनि पौवाको बारेमा खासै बिस्तृत जानकारी उपलब्ध गराउन सक्ने भने कोही भेटिएन । तपाइहरुले यो पौवा बारेमा केही जानकारी सुन्नु भएको छ भने कमेन्टमा लेख्नु भइ सहयोग गरि दिनुहोला ।
कार्ल इ टेलर फर्किएको केही समय पछि कान्छी डाक्टर तथा ठूली डाक्टरको समुहको पोखरा आगमन भएको थियो । वहाँहरुको प्रयासले नै साइनिङ हस्पिटलको जन्म भएको थियो । यस सम्बन्धी सम्पूर्ण जानकारी डेभिड हकरले लेख्नुभएको “कान्छी डाक्टर रुथ वाटसन” नामक कान्छी डाक्टरको जीवनीको पुस्तकमा लेखिएको छ।
युनिवर्सिटी अफ वैक्सीन-मिलवाउकीको संग्रहमा रहेका कार्ल इ टेलरको पोखरा बसाइमा खिचेका तस्विरहरु मेरो संग्रहमा छन् । Source: Sunil Ulak

Leave a Reply