जिल्ला जनगणना कार्यालय म्याग्दीको आयोजनामा बिहीबार सदरमुकाम बेनीमा जिल्लास्तरीय जनगणना सचेतना गोष्ठी सम्पन्न भएको छ । ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने मूल नारासहित आगामी वर्ष हुन लागेको राष्ट्रिय जनगणना–२०७८ को पूर्वसन्ध्याको अवसरमा जिल्लास्थित सरोकारवालाहरुबीच गोष्ठी गरिएको हो ।

गोष्ठीको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले जनगणनाको कार्यक्रमलाई सफल पार्नु सबैको दायित्व भएको बताए ।

उनले प्रतिवेदन प्रस्तुती, टिप्पणी, जिज्ञासा र त्यसको उत्तरले जनगणनाको महत्व मुखरित भएको भन्दै शिक्षा, स्वास्थ्य, जातजाती वा आर्थिक क्षेत्रको योजना निर्माण गर्नका लागि पनि जनगणनाबाट सही तथ्याङ्क आउनुपर्नेमा जोड दिएका छन् ।

बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले जनगणना जस्तो महत्वपूर्ण कार्यक्रमलाई हेलचेक्¥यार्इँ गर्न नहुने बताउँदै सबैले आ–आफ्नो ठाउँबाट जनगणना कार्यलाई सफल बनाउन सहयोग गर्नुपर्ने बताए ।

प्रमुख जिल्ला अधिकारी गणेश बहादुर अधिकारीले आगामी वैशाख २६ गतेदेखि जनगणनाको महत्वपूर्ण चरणमा प्रवेश गरिने बताउँदै त्यस अगाडि भएका सबै कार्यक्रम पूर्वतयारी रहेको बताए ।

उनले जनगणनालाई बढी विश्वसनीय बनाउन विभागले आफ्नो तयारी गरिरहेको बताउँदै त्यसका लागि जनगणना कार्य सफल बनाउन सरोकारवाला पक्ष सचेत बन्नुपर्ने धारणा राखे ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दलबहादुर थापाले राष्ट्रिय जनगणना–२०७८ को संक्षिप्त जानकारी तथा तयारी कार्य र जिल्ला जनगणना अधिकारी घनश्याम सापकोटाले जनगणनामा व्यक्ति तथा घरको गणना विधि, अवधारणा तथा परिभाषा विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रस्तुत कार्यपत्रमाथि जिल्ला आयोजना कार्यान्वयन इकाई प्रमुख आकांक्षा रिजाल र मंगला गाउँपालिकाको शिक्षा संयोजक डेकबहादुुर बानियाँले टिप्पणाी गरेका थिए । प्रजिअ अधिकारीको अध्यक्षता र बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले स्वागत गरेको कार्यक्रममा सहायक जिल्ला जनगणना अधिकारी केशवबहादुर बुढाथोकीले सञ्चालन गरेका थिए ।

 

Leave a Reply