म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरमा जनकल्याण मावि अक्षयकोषले बिहीबार दोस्रो स्थापना दिवस मनाएको छ । जनकल्याण माध्यमिक विद्यालयमा स्थापित अक्षयकोषको आयोजनामा विविध कार्यक्रमहरु गरी स्थापना दिवस मनाइएको हो ।

दिवसको अवसरमा विद्यालयका पूर्व प्रधानाध्यापक, वादविवाद प्रतियोगितामा विजेता विद्यार्थीलाई सम्मान तथा अभिभावक दुई जनालाई नगद र फलफुल वितरण गरिएको विद्यालयले जनाएको छ । स्थापना दिवसमा अक्षयकोषद्वारा विद्यालयका पूर्व प्रधानाध्यापक नारायणप्रसाद पौडेललाई सम्मानपत्र र दोसल्ला तथा विद्यालय स्थापनाकालका संस्थापक कोषाध्यक्ष दधिलाल पौडेल र विद्यालयको पहिलो वर्षको विद्यार्थी तथा पूर्व प्रअ यादवप्रसाद पौडेललाई सम्मान गरिएको थियो ।

यसैगरी यसअघि विद्यालयको आयोजनामा सम्पन्न ‘धनभन्दा विद्या ठूलो’ शीर्षकको वादविवाद प्रतियोगितामा सहभागी १७ जना विद्यार्थीमध्ये प्रथम हुन सफल प्रकृति बानियाँ, द्वितीय युनिसा परियार तथा तृतीय सुबोध सुवेदीलाई क्रमशः एकहजार, सातसय र चारसय रुपैयाँ बराबरको स्टेशनरीले पुरस्कृत गरिएको छ । त्यस्तै विद्यालयका अभिभावकद्वय दिपाकली दर्जी र कमला दर्जीलाई शीघ्र स्वास्थ्यलाभको कामनासहित नगद तीनतीन हजार तथा फलफुल वितरण गरिएको जनाइएको छ ।

सोही अवसरमा विद्यालयका पूर्व प्रअ तथा सम्मानित व्यक्तित्व नारायणप्रसाद पौडेलले अक्षयकोषमा नगद एकलाख ११ हजार एकसय ११ रुपैयाँ सहयोग गरी अक्षयकोषको यशस्कर सदस्य बनेका छन् । कक्षा ११÷१२ सञ्चालनका लागि गएको वर्ष स्थापना गरिएको अक्षयकोषमा हालसम्म ५० लाख रुपैयाँभन्दा बढी आर्थिक सङ्कलन भैसकेको छ । कार्यक्रममा अक्षयकोषका कोषाध्यक्ष गजिन्द्र श्रेष्ठले कोषमा सङ्कलित रकमबारे जानकारी गराएका थिए ।

अक्षयकोष स्थापना दिवस कार्यक्रमको उद्घाटन गर्दै विद्यालयका पूर्व प्रअ नारायणप्रसाद पौडेलले विद्यालय सबैको साझा भएकाले शैक्षिक गुणस्तर वृद्धि गर्नेतर्फ ध्यान दिनुपर्ने बताएका छन् । कार्यक्रममा अक्षयकोषका सल्लाहकार विष्णुमाया कुँबर र विशिष्ट सदस्य रामप्रसाद पौडेलले मन्तव्य राखेका थिएभने वादविवाद प्रतियोगिताका विजयी तीनैजना विद्यार्थीले आआफ्नो वादविवाद मन्तव्य प्रस्तुत गरेका थिए ।

अक्षयकोषका उपाध्यक्ष नरबहादुर रामदामको अध्यक्षता, सचिव शिव बानियाँको सञ्चालन र विद्यालयका प्रधानाध्यापक कमलप्रसाद पौडेलको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । उक्त अक्षयकोषको हालसम्म १ सय १६ जना विभिन्न प्रकृतिका सदस्यहरु बनेका छन् ।

Leave a Reply