म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) कतारले जिल्लामा बहुउद्देश्यीय अक्षय कोष स्थापना गर्ने भएको छ । संस्थाको आज बसेको बैठकले न्यूनतम १५ लाख बराबरको अक्षयकोष स्थापना गर्ने निर्णय गरेको जनाएको छ ।

जिल्लामा भई परी आउने हरेक समस्याहरूमा दिगो रूपमा मलहम लगाउने उद्देश्यले सङ्घले उक्त कोष निर्माणार्थ सन २०१९ मा एक बृहत् सॉस्कृतिक कार्यक्रम आयोजना गरी केही रकम सङ्कलन गरी सकेको छ । अक्षयकोष स्थापना गर्नु मोना कतारको लक्ष्य हो, हामी यसमा प्रतिबद्ध भएर लाग्नेछौ र सबैबाट सहयोगको अपेक्षा पनि गर्दछौ, अध्यक्ष नरेन्द्र फगामीले बताए ।

कोष स्थापनाले जिल्लाका हरेक दुख सुखमा संस्थाको उपस्थिति सहित सामाजिक संस्थाको दायित्व तथा कर्तव्य बुझाउने बिश्वास संघले लिएको छ । कोरोनाका कारण कार्यसम्पादनमा ढिलाइ भए पनि वर्तमान कार्यसमितिले कोष स्थापना गर्ने कार्यलाई पहिलो प्राथमिकतामा राख्दै आर्थिक सहयोग सङ्कलन समिति गठन गरेको छ । संस्थाका वरिष्ठ उपाध्यक्ष राजु पौडेलको संयोजकत्वमा तिन सदस्यिय “बहुउद्देश्यीय अक्षय कोष स्थापनार्थ आर्थिक सहयोग सङ्कलन समिति” समेत गठन गरेको हो ।

हरेक दिन दुखीको सहयात्री बन्न कोषको स्थापना गर्न लागिएको र सबैबाट सहयोगको अपेक्षा गरेको संयोजक पौडेलले बताए । सङ्घले खेलकुद, शिक्षा, स्वास्थ्य, बाढी, पहिरो, भूकम्प, बिरामी लगायतका विभिन्न क्षेत्रमा विभिन्न किसिमका सहयोग गर्दै आइरहेको छ । कतारमा रहेका म्याग्देलीहरुको साझा संस्थाको रूपमा मोना कतार परिचित छ ।

Leave a Reply