बेनी नगरपालिका-२,ज्यामरुककोट सामुदायिक बनको ६५ हेक्टर जंगल आगोलागीबाट सखाप भयो । सामुदायिक बनमा लागेको आगो नियन्त्रणमा लिन डिभिजन बन कार्यालयले ४३ जना सुरक्षाकर्मी सहित परिचालन ग¥यो । स्थानीय र सुरक्षाकर्मी दुई दिनसम्म आगो नियन्त्रणका लागि खटिए पनि आगो नियन्त्रणमा असफल भए ।

पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–७, धारापानी सामुदायिक बनमा आगोलागीले करिब ६० हेक्टर जंगलमा क्षती पुग्यो । यसबर्ष म्याग्दी जिल्लाका सबै स्थानीय तहमा ४७ सामुदायिक बनमा आगालगी हुँदा करिब १२ सय हेक्टर वनक्षेत्रमा क्षति भएको छ ।

वनमा आगलागी हुँदा साना तथा ठूला सयौं रूख विरुवा जलेर नष्ट भएका छन् । म्याग्दी जिल्लामा हावाहुरीको मौसम सुरु भएसँगै सदरमुकाम बेनी तथा विभिन्न स्थानमा दिनहुँजसो आगलागीका घटना भइरहेका छन् ।

म्याग्दीमा १० हेक्टरदेखि १ सय ५० हेक्टर क्षेत्रफलमा आगलागीले क्षती पुगेको डिभिजन बन कार्यालयको तथ्याङ्कले देखाउँछ ।डढेलो यो वर्ष मात्र होइन, प्रत्येक वर्ष नयाँ घाँस पलाउने आसमा डढेलो लगाउने गरिएको तथ्याङ्कले देखाउँछ ।

भौगोलिक कठिनाइ र भिरालो वनमा आगो लागेकाले नियन्त्रण गर्न कठिन हुने गरेको डिभिजन बन कार्यालय म्याग्दीले जनाएको छ । अव्यवस्थित ढंगले हरियो घाँसको लोभमा जथाभावी डढेलो लगाइँदा वातावरणीय पर्यावरण तथा जीवजन्तुसँगै मानवीय क्षति हुँदै आएको छ ।

सामान्यतया सुक्खा र गर्मी हुने मौसममा डढेलो बढी हुने गरेपनि म्याग्दीमा हरियो घाँसको लोभमा पाखो डाँडा तथा जंगलहरुमा आगो लगाउने गरिएको डिभिजन बन कार्यालय म्याग्दीका निमित्त प्रमुख सन्तोष खनालले बताए ।

‘यसबर्ष म्याग्दीमा आगोलागीबाट धेरै क्षती भयो,‘मानवीय लापरबाहीले आगलागी हुने गरेको छ’ खनालले भने । उनका अनुसारमानवीय कारणबाट लगाउने गरिएको डढेलोको असर लामो समयसम्म हुने भएकाले घाँसको लोभमा प्राकृतिक स्रोतसाधनको नष्ट गर्ने गरिएको बताए ।

डढेलो नियन्त्रणका लागि डिभिजन बन कार्यालयले विभिन्न शिर्षकमा १० लाख बजेटमा विभिन्न उपकरण सहितको साम्रागी ब्यवस्थापन, जनशक्ती परिचालन लगायतका गतिविधि गर्ने गरिएको छ।

भौगोलिक विकटता र स्रोत साधन अभावमा डढेलो तथा आगो नियन्त्रण गर्न कठिन भएकाले सुरक्षा निकायलाई समेत उपकरण सहयोग सहित नियन्त्रणमा पुग्न लाग्ने खर्च समेत कार्यालयबाटै ब्यवस्थापन गर्न आगामी बर्ष थप बजेट समेत माग गरिएको निमित्त प्रमुख खनालले बताए ।

जंगलमा जथाभावी लगाइएको डढेलोको तथ्यांक गण्डकी प्रदेशको बन निर्देशनालयमा समेत पठाइएको छ । डढेलोले वातावरण प्रदूषण समेत बनाएको उनको भनाइ छ ।

जिल्लाको अति दुर्गम क्षेत्रमा जथाभावी डढेलो लगाउँदा भुगोलका कारण स्थानीय सहित अन्य जनशक्ती समेत पुग्न नसक्ने भन्दै उनले हरियो घाँसको लोभमा जथाभावी डढेलो लगाउने कार्यलाई निरुत्साहित गर्न जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिने बताए । वनमा जाँदा सावधानी अपनाउन समेत उनले अनुरोध गरे ।

घासँदाउरा, स्याउला सोत्तर ल्याउन वनमा गएकाहरुले नयाँ घासँको लोभमा आगो लगाउने गरेमा बन ऐन अन्तरगत कारवाहीका लागि समेत समस्या हुने गरेको डिभिजन बन कार्यालयले जनाएको छ ।

यसबर्ष कार्यालयले वृक्षरोपणको कार्यक्रमलाई समेत प्राथमिकता दिने जनाएको छ । चुरोटका ठुटा र सलाइका काँटी फाल्दा विशेष ध्यान दिने, सजिलै आगो निस्कने पदार्थलाई केटाकेटीको सहज पहुँचमा नराख्ने, आगो तापिसकेपछि वा खाना पकाएपछि राम्ररी आगो निभाउनेलगायतका उपाय अपनाएको खण्डमा आगलागीबाट हुने ठूलो जनधन न्यूनीकरण गर्न सकिन्छ ।

आगलागि पछि पनि पहिरो जाने सम्भावना हुने भएका कारण वर्षायाममा सचेत हुनुपर्ने अवस्था रहेको विज्ञहरूको भनाई छ । म्याग्दीमा बर्षेनी हुने आगलागीका घटनामा करिब ७० प्रतिशतभन्दा बढी मानव सिर्जित रहेको छ । थोरै घाँसको लोभले आगो लगाउँदा बस्ती र मानवीय क्षती समेत हुने गरेको छ ।

जिल्लाका सबै सामुदायिक बनमा अग्नी नियन्त्रणका लागि सञ्जाल सहित विभिन्न समिति गठन गरेपनि जनचेतना र आगलागीबाट हुने दिर्घकालिन असरका बारेमा प्रयाप्त जानकारी नहुदाँ हरेक बर्ष डढेलोको प्रकोप फैलिने गरेको छ ।

Leave a Reply