म्याग्दीको सदरमुकाम बेनीबजारसँगै जोडिएको दुईवटा सामुदायिक वनमा भिषण आगलागी भएको छ । शुक्रबार दिउँसोदेखि आपाँरुख र बराहपाखो सामुदायिक बनमा फैलिएको डढेलो नियन्त्रणको प्रयास गरिएपनि अनियन्त्रित भएको छ ।

एकाएक डढेलो फैलिएपछि स्थानीयवासी, वनका कर्मचारी, स्थानीयबासी, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र बेनी नगरपालिकाको दमकलर कर्मचारीको सक्रियतामा डढेलो निभाउने प्रयास जारी रहेको डिभिजन बन कार्यालयका बन रक्षक राजेन्द्र सापकोटाले बताए ।

‘सल्लाका रुखको घना जंगलले घेरिएको जंगलमा फैलिएको आगो नियन्त्रण सम्भव देखिएको छैन्,‘बेनीबजारसम्म आउन नदिन अग्नी रेखा सहित काउण्टर फायर गरिएको छ’ उनले भने । आगोलागीबाट करिब २० हेक्टरभन्दा बढी बनजंगल जलेर नष्ट भएको छ । आपाँरुखबाट फैलिएको डढेलो बराहपाखो अन्तरगत हुलाकचोक र बिरेन्द्रचोकसम्म आउन सक्ने जोखिमलाई मध्यनजर गरी बन कार्यालयका कर्मचारीले अग्नीरेखा, फायर काउण्टर गरिएकाले हाल बजारमा जोखिम नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आगलागी भएको स्थानबाट मानसिक सन्तुलन गुमेका एक पुरुष फेला परेको प्रहरी निरक्षक डाक्टरप्रसाद चौधरीले बताए । आगलागीबाट जमिन तथा नयाँ उम्रिएका बिरुवा जलेर खरानी भएको छ । सदरमुकाम नजिकै भएको दुईवटै सामुदायिक बनमा रहेको अग्नीरेखाको प्रयोग गरी नियन्त्रणको प्रयास गरेपनि रात परेपछि समस्या भएको थियो । आगोलागीबाट बेनीबजारमा बायु प्रदुषण समेत भएको छ ।बेनी नगरपालिकाको दमकल आगो निभाउन पुगेको थियो ।

आगो बस्ती नजिक आउन थालेपछि जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गरी निभाउने अभियानमा सहभागी हुन अपिल गरेको थियो । पुनारो जंगल र सुख्खायाम भएका कारण आगोलागी नियन्त्रणमा समस्या आएपनि आगोलागीले करिब दुबै सामुदायिक बनको अधिकांस भाग जलेर नष्ट हुने अवस्था देखिएको डिभिजन बन कार्यालयले जनाएको छ।

Leave a Reply