सवारी दुर्घटना न्यूनिकरण तथा बेनी प्रवेश गर्ने नाकामा कडाई गर्न म्याग्दीको सदरमुकाम बेनीबजारस्थित हाँडेभीर तथा सामुदायिक चोकमा नवनिर्मित प्रहरी चेक पोष्ट र ट्राफिक प्रहरी पोष्टको उद्घाटन भएको छ । बेनी नगरपालिका, जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरीसँगको समन्वयमा निर्मित पोष्टको उद्घाटन गरिएको हो ।

दुईवटै चेक पोष्टको उद्घाटन गर्दै बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले बेनीबजारमा ट्राफिक व्यवस्थापन गर्नका लागि नगरपालिकाले आवश्यक पहल गरिरहेको बताए । ‘अतिआवश्यक स्थानमा पोष्ट राखिएको छ,‘प्रहरीसँगको सहकार्यमा थप नयाँ र सन्देशमुलका काम गर्नेछौ’प्रमुख श्रेष्ठले भने ।

उनले नगरपालिकाभित्र सचेतनामुलक कार्यक्रम सहित प्रहरीसँग समुदायको सहकार्यलाई थप बलियो बनाउने गरी काम गर्ने बताए ।

प्रमुख जिल्ला अधिकारी गणेश बहादुर अधिकारीले ट्राफिक प्रहरी पोष्ट र प्रहरी चेक पोष्टले जिल्लाको पश्चिम तथा उत्तरी क्षेत्रको आवतजावतमा सहयोग पुग्ने बताए ।कार्यक्रममा बेनपाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल, सामुदायिक सेवा केन्द्रका अध्यक्ष विष्णु गुरुङ, पत्रकार महासंघ म्याग्दीका नवनिर्वाचित अध्यक्ष प्रकाश पौडेल, म्याग्दी यातायात कम्पनीका सञ्चालक लालबहादुर थापा र बेनपा–७, बेनीका वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले मन्तव्य राखेका थिए ।

बेनीबजारमा ट्राफिक उल्लंघनको कार्य बढ्दै गइरहेको र लागुऔषधका प्रयोगकर्ता समेत लुकिछिपी आउने भएकाले कडाई गर्न सहज भएको प्रहरी नायव उपरिक्षक श्यामकुमार राईले बताए । बेनीबजार प्रवेश हुने नाका सहित स्थानीय तहसँग समन्वय गरी आवश्यक पर्ने स्थानमा जनशक्तीको ब्यवस्थापन गरी प्रहरीको उपस्थिति बलियो बनाउने योजना रहेको जनाइएको छ ।

Leave a Reply