नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीको शनिबार सदरमुकाम बेनीमा २९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा शाखाका मन्त्री यामबहादुर चोखालले प्रगति र कोषाध्यक्ष नवराज पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

साधारण सभाको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी गणेश बहादुर अधिकारीले जिल्ला प्रशासनसँग विपद् व्यवस्थापनमा सबैभन्दा नजिकमा रहेर काम गर्ने संस्था रेडक्रस भएको बताएका छन् ।

उनले रेडक्रस सामाजिक संस्था भएकाले मानवीय सेवाको क्षेत्रमा सहयोगी भूमिका निर्वाह गर्नुपर्ने र आपत्विपद्को अवस्थामा अग्रभागमा रहेर काम गर्नुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा रेडक्रस गण्डकी प्रदेशका उपसभापति विष्णु रोकाले रेडक्रसमार्फत दुर्लभ रक्त समूहको पहिचान, अभिमुखीकरण तथा सञ्जालीकरण गर्ने कार्यक्रमतर्फ गण्डकी प्रदेश समिति पहिलो भएको बताएकी छन् ।

साधारण सभाको अवसरमा कोभिड–१९ संक्रमण व्यवस्थापनमा उत्कृष्ट कार्य गरेकोमा रेडक्रस पिप्ले उपशाखा र आजीवन सदस्यतातर्फ धेरै महिला सदस्य बनाउनेमा पात्लेखेत उपशाखा उत्कृष्ट भएकोमा रेडक्रस जिल्ला शाखामार्फत प्रमाणपत्रसहित सम्मान गरिएको छ ।

वार्षिक साधारण सभा रेडक्रस म्याग्दी शाखाका सभापति लेखबहादुर हमालको अध्यक्षता, उपसभापति अमर बानियाँको स्वागत र मन्त्री यामबहादुर चोखालको सञ्चालनमा सम्पन्न भएको थियो । म्याग्दी जिल्लाभर रेडक्रसका २२ वटा उपशाखाहरु रहेका छन् ।

Leave a Reply