नेपालमा हिन्दुहरुको जनसंख्या कम देखाउने षड्यन्त्र भैरहेको विश्व हिन्दु महासंघ म्याग्दीले आरोप लगाएको छ ।

जनगणनाका लागि जिल्लामा पठाइएको फारममा विगतमा गरिएको गणनाभन्दा फरकमा करिब एकदर्जन धर्म तोकेर अन्य(खुलाउने) समेत विकल्प राखेर हिन्दु धर्म ‘टुक्र्याउने नियत’ राखिएको बताइएको छ ।

शनिबार महासंघले बेनीमा आयोजना गरेको कार्यक्रममा ॐकारशन्देश नामक पुस्तक विमोचन गदैं बेनी नगरका प्रमुख हरिकुमार श्रेष्ठले नेपालमा विभिन्न जातजातिको सहकार्य र एकतालाई बलियो बनाउनुपर्ने बताए ।

‘तपाईहरुको गुनासो पनि सुने,‘सबै धर्मको सम्मान गर्नुपर्छ, जवरजस्ती धर्म परिवर्तन गरेमा संविधानमै सजाय तोकिएको छ’ मेयर श्रेष्ठले भने । उनले महासंघले उठाएको विषयमा समेत सम्बन्धित कार्यालयले प्रष्ट पार्दा सहज हुने मेयर श्रेष्ठको भनाई छ ।

सोही अवसरमा महासंघका गण्डकी प्रदेश सदस्य दिर्घबहादुर बानियाँले जनगणनाको निशानामा हिन्दु धर्म परेको आरोप लगाउँदै सचेत हुनुपर्ने बताए ।

‘अनावश्यक रुपमाहिन्दु धर्मभित्र प्रवेश गरी मुल धर्म खण्डित गर्ने नियोजित षड्यन्त्र हो,‘अन्य धर्ममा आस्था राख्नेहरुबाट पछिल्लो पटक जारी गरिएको प्रेस विज्ञप्तीले समेत पुष्टी गरेको छ’ बानियाँले भने ।

उनले यसपटक हिन्दुधर्मको संख्या थोरै देखाउने नियतले फारम डेभलप गरेको पुष्टी भएकाले महासंघले खवरदारीलाई थप प्रभावकारी बनाउनुपर्ने बताए ।

महासंघ म्याग्दीका अध्यक्ष कृष्णप्रसाद शर्माले म्याग्दीका सबै स्थानीय तहसम्म पुगेर जानकारी सहितका कार्यहरु गर्नुपर्ने बताए । जनगणनामा धर्मसम्बन्धी विकल्पमा हिन्दु धर्ममा उल्लेख सबैलाई समेट्नुपर्ने बताइएको छ ।

कार्यक्रमको सञ्चालन महासचिव बिक्रम श्रेष्ठले गरेका थिए । महासंघले गाउँघरमा राष्ट्रिय जनगणनाका लागि आउने गणक तथा सुपरिपेक्षकलाई समेत हिन्दु भएमा हिन्दु मात्रै जानकारी दिन समेत महासंघले अपिल गरेको छ ।

 

Leave a Reply