म्याग्दीको सदरमुकाम बेनीबजारसँगै जोडिएको दुईवटा सामुदायिक वनमा डढेलाका कारण ३१ हेक्टर वन क्षेत्रमा नोक्सानी भएको छ । आपाँरुख र बराहपाखो सामुदायिक वनमा डढेलो लाग्दा बिरुवा, चराचुरुङ्गीको बास नासिएको छ ।

लामो समयसम्म वर्षा नहुँदा वन क्षेत्रमा रहेका झाडी, सल्लाको रुखका सुकेका पातमा आगो सल्किँदा बराहपाखोमा १७.६ हेक्टरमध्ये १३ हेक्टर र आपाँरुख सामुदायिक बनमा १६ हेक्टर जलेर नष्ट भएको डिभिजन बन कार्यालयका बन रक्षक राजेन्द्र सापकोटाले जानकारी दिए ।

उनका अनुसार दुबै सामुदायिक बन बेनीबजार आसपासमा भएकाले बजारलाई जोगाउन बनाइएको अग्नी रेखाका कारण केही स्थानमा असर नगरेपनि डढेलोका कारण अधिक क्षति पुगेको बताए । सल्लाको रुखको टुप्पोसम्म आगो फैलिएपनि काँचो रुखमा ठूलो असर नदेखिएको डिभिजन बन कार्यालयले जनाएको छ ।

हावाहुरीका कारण सुकेका एक रुखको टुप्पोबाट अर्को रुखको टुप्पोमा आगो सल्किँदा निभाउन गाह्रो भएको थियो । डिभिजन बन कार्यालयको प्रारम्भीक अध्ययन अनुसार वनमा प्राकृतिक कारणले नभई मानवीय कारणले डढेलो फैलिएको जनाएको छ।

सदरमुकाम बेनीबजारलाई आगामी दिनमा डढेलोको जोखिमबाट जोगाउन थप अग्नीरेखा बनाउनुपर्ने र अति जोखिमस्थानमा फायर काउण्टर समेत गर्नुपर्ने डिभिजन बन कार्यालयले जनाएको छ । वन जङ्गलमा आगो लगाउँदा पालुवा राम्रो पलाउँछ र घाँस राम्रो हुन्छ भन्ने गलत सोचाइका कारण वन जङ्गलमा डढेलो लगाउने क्रम बढ्दै गएको छ ।

जिल्लाका अधिकांस डाँडाकाँडाका सबै जंगल डढेलोले निल्न थालेको भन्दै वातावरणको क्षेत्रमा काम गर्नेले चिन्ता ब्यक्त गर्ने गरेका छन् । जिल्लामा सबैभन्दा धेरै मंगला गाउँपालिकामा २७५ हेक्टर, बेनी नगरपालिका १ सय ७ हेक्टर, धवलागिरी ७८.५ हेक्टर, रघुगंगा ११ हेक्टर र अन्नपूर्ण गाउँपालिका ११ हेक्टर जलेर नष्ट भएको छ ।

Leave a Reply