---Advertisement---

भकिम्लीलाई जातीय छुवाछूत मुक्त वडा घोषणा गरिने

On: April 12, 2021 8:48 PM
Follow Us:

जातीय विभेद तथा छुवाछूत अन्त्यका लागि बेनी नगरपालिका-३, भकिम्लीलाई जातीय छुवाछूत मुक्त वडा घोषणा गरिने भएको छ । प्रगतिशील दलित मञ्चले विगत तीनबर्ष देखि छुवाछुत मुक्त वडा बनाउन दलित समुदायले गैरदलितको उपस्थितिमा निरन्तर कार्यक्रम गरिरहेका छन् ।

आइतबार भकिम्लीमा आयोजित कार्यक्रममा बोल्ने बक्ताले जातीय भेदभाव तथा छुवाछूत अन्त्यका लागि समुदायमा सबै जातजातिको सामुहिक प्रतिबद्धता सहित सक्रिय भूमिका हुनुपर्नेमा जोड दिएका थिए ।

मञ्जको आयोजनामा भएको सहभोज तथा प्रतिबद्धता कार्यक्रममा वडा अध्यक्ष पदम पुनले जातिय विभेदमुक्त वडा घोषणा अभियानमा आफ्नो पूर्ण सर्मथन रहेको बताए । ‘समुदायमा सबै जातजातिको सहकार्य आवश्यक छ,‘अब छुवाछुतको बहसमा अल्झिनुहुदैन्’ वडा अध्यक्ष पुनले भने ।

उनले नेपालको संविधानमा निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछूत भेदभाव गर्न नहुने’ व्यवस्था भए पनि कार्यान्वयन नभएकाले भकिम्लीबासीले जातिय छुवाछुत मुक्त वडा घोषणा गरी सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिए ।

सोही अवसरमा नेपाली कांग्रेस म्याग्दीकी कार्यसमिति सदस्य मनकुमारी विश्वकर्मा, माओवादी केन्द्र भकिम्लीका अध्यक्ष खिम बहादुर पुन,मंगोल अर्गनाइजेसन म्याग्दीका कोषाध्यक्ष दिपक पुनले कथित उपल्लो र तल्लो जातिको परिचयलाई नयाँ पुस्ताले अस्वीकार गरिरहेको बताउँदै सबै प्रकारको विभेदको अन्त्यका लागि प्रतिबद्धत रहेको बताएका थिए ।

विगत तीनबर्ष देखि समुदायस्तरमा विभिन्न कार्यक्रम गरी जातिय विभेदमुक्त भकिम्ली बनाउने अभियानमा जुटेको मञ्चको कार्यक्रममा वडा सदस्य रत्न जिसी, मनकुमारी पुन, दलित सदस्य हरिकला परियार,जयन्ती माविका प्रअ रामबहादुर पुन, बालप्रिय सारदा आधारभुत विद्यालयकी प्रअ जमुना रोका, चन्द्रोदय आधारभुत विद्यालय प्रअ शान्ताकुमारी राना, विभिन्न आमा समुह, यूवा क्लव, टोलसुधार समितिका संयोजकले दलित समुदायको आर्थिक, सामाजिक र राजनीतिक अधिकार सुनिश्चितताका लागि दलित र गैरदलित समुदायबीच एकता हुनुपर्ने बताएका थिए ।

यसअगाडी विद्यालय, गैरदलित तथा अगुवाहरुसँग छलफल सहित विभिन्न कार्यक्रम गरेको मञ्चले आवश्यक तयारी सहित निकट भविस्यमा जातिय छुवाछुत मुक्त वडा बनाउने गरी समुदायसँग प्रतिबद्धता सहितका कार्यक्रमहरु केन्द्रित गरेको मञ्चका पूर्व अध्यक्ष राम किसानले बताए।

कार्यक्रमको अध्यक्षता मञ्चका अध्यक्ष महेन्द्र बोहोरा, स्वागत पूर्व अध्यक्ष किसानले गरेका थिए भने सहजिकरण सहित सम्रग दलितको समस्याका बारेमा पत्रकार हरिकृष्ण गौतम र कार्यक्रम सञ्चालन सञ्चारकर्मी अमित विश्वकर्माले गरेका थिए ।