एक महिना यता म्याग्दीको अधिकांश वन-जंगलमा नियन्त्रण गर्नै नसक्ने गरी डढेलो फैलिएको छ। हालसम्म जिल्लाभर १ हजार हेक्टरभन्दा धेरै बनजंगल डढेलोकै कारण सखाप भएको छ। सदरमुकाम बेनीबजासँगै जोडिएको दुईवटा सामुदायिक बनमा फैलिएको डढेलो झण्ढै मानवबस्ती नै जोखिममा परेन्।

जिल्लाभित्रका अधिकांस सरकारी तथा सामुदायिक बन डढेलोकै कारण रित्तै देखिएको छ । डढेलोले वायुमण्डललाई प्रदूषित बनाएसँगै कतिपय मानवबस्ती नै जोखिममा परेका छन् । तर यसको नियन्त्रणका लागि जिल्लाभित्र रहेका संघदेखि स्थानीय सरकारले प्रयोग गदैं आइरहेको विधि नै असफल देखिएको छ ।

तीनै तहको सरकारको प्रभावकारी समन्वय, योजनाको अभावका कारण तत्कालै नियन्त्रण हुने डढेलोले बिकराल रुप लिएको छ भने वन्यजन्तु, बोटविरुवा, वनस्पति, जडिबुटी र काठ–दाउरा लगायतका जैविक तथा पर्यावरणीय क्षति बढ्दो छ।

डढेलो नियन्त्रणमा बढी जिम्मेवार हुनुपर्ने स्थानीय तहसँग पर्याप्त बजेट, नितिको अभावले समुदायको पहलमै डढेलो नियन्त्रण गर्नुपर्ने बाध्यता देखिएको छ। डढेलो नियन्त्रण गर्न सरकारी तह र निकायबाट प्रभावकारी पहल भएको छैन भन्ने आधारहरु सदरमुकाम बेनी आसपासमै फैलिएको डढेलो नियन्त्रणबाटै घाम जस्तै छर्लङ हुन्छ ।

जिल्लाभर मानवीय त्रुटिले फैलिएको डढेलोमा संलग्नको पहिचान भएपनि समुदायस्तरबाटै लुकाउने, मानवसृजित गतिविधिमा संलग्नको खोजीकार्य नहुने जस्ता गतिविधिले समेत बनमा आगो सल्काउनेहरुलाई कारवाही भएको छैन्। संघ, प्रदेश र स्थानीय तहबीच समन्वय अभाव, अधिकार तथा कार्यक्षेत्रको अन्योलका कारण डढेलो रोकथाम र नियन्त्रणमा प्रभावकारी प्रयास भएको देखिँदैन।

स्थानीय सरकारले समान्य कार्यक्रममा लाखौं विनियोजन गरे गरेको अवस्थामा डढेलो नियन्त्रणका लागि बार्षिक योजना समेत बनाउँर्दैनन्। वैज्ञानिक विधि र प्रविधिको प्रयोगमा कुनै पक्षले जोड नदिएको र डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय बासिन्दालाई जिम्मेवार बनाउन पनि कसैले पहल नगरेकाले समस्या जटिल बन्दै गएको छ ।

डिभिजन बन कार्यालयमा डढेलो नियन्त्रणका लागि बार्षिक १० लाख बजेट हेर्दा औपचारिकतामा सक्न खोजेजस्तो देखिन्छ। डढेलो नियन्त्रणका लागि बजेटको आकार हेर्दा ‘कर्मकाण्डी विनियोजन’ मात्रै भएको जस्तो देखिएपनि समुदायस्तर सम्म बनाइएको समिति समेत उदासीन देखिन्छ।

डढेलो रोकथाम तथा नियन्त्रणका लागि के गर्न सकिन्छ भनेर अहिलेसम्म स्थानीय तहमा छलफल समेत भएको पाइदैन् । डढेलो नियन्त्रणमा प्रयोग गर्नुपर्ने विशेष किसिमको औजार तथा सामग्री, अग्नि नियन्त्रक टोलीले लगाउने पोशाक, उच्च प्रेसरको पम्प लगायत उपकरण समेत जिल्लामा केही उपलब्ध भएपनि स्थानीय तहसँग छैन्।

यस्तो सामग्रीबाट वन डढेलो नियन्त्रणमा सहयोग पुग्ने भएकाले सबै स्थानीय तहले आवश्यक उपकरण खरिदमा विषेश ध्यान दिनु जरुरी छ । डढेलो नियन्त्रण गर्न स्थानीय प्रविधिको प्रयोगले मात्रै सम्भव नै छैन् । हरेक वर्ष हुँदै आएको डढेलोको प्रकोपबाट ठूलो मात्रामा प्राकृतिक तथा मानवीय क्षति हुने गरेकाले यसको नियन्त्रणमा सम्बन्धित निकायले गम्भीर भएर सोच्ने बेला आएको छ। बेनी सप्ताहिक समाचारपत्रबाट

Leave a Reply