मिर्गौलाले हाम्रो शरीरमा भएको दूषित पदार्थ तथा रगतमा जम्मा भएको बढी पानी शरीरबाहिर फाल्न सहयोग गर्छ । यसबाहेक मिर्गौलाले रक्तचाप सन्तुलनमा राखी रगत उत्पादन र हड्डीलाई स्वस्थ राख्न पनि सहयोग पुर्‍याउँछ ।

मिर्गौला रोगको सुरुवाती चरणमा कुनै लक्षण देखिँदैन । करिब ८० प्रतिशत मिर्गौला बिग्रेपछि मात्र यसको लक्षण देखिन थाल्छ । मिर्गौला रोगलाई साइलेन्ट किलर पनि भन्ने गरिन्छ । मिर्गौलामा समस्या भए यस्ता लक्षणहरू देखिन्छ ।

-सास फेर्न अप्ठ्यारो हुने ।
-शरीरका विभिन्न अंगहरू सुन्निने
-खानमा रुचि नहुने तथा वाकवाकी लाग्ने ।
-छाला सुख्खा हुने
-पिसाब कम हुने, धमिलो गन्हाउने, फिँज हुने वा रगत मिसिएको हुने ।

मिर्गौला स्वस्थ राख्न के गर्ने ?
हरेक व्यक्तिले कम्तीमा वर्षको एकपटक रगतमा क्रिएटिनाइन र पिसाबमा अल्बुमिनको जाँच गर्नुपर्छ । यो जाँच गर्न सुविधासम्पन्न अस्पताल धाइरहनुपर्दैन । प्रायः सबैजसो ल्याबमा यो परीक्षण सामान्य शुल्क गर्न सकिन्छ । मिर्गौला स्वस्थ राख्न यस्तो व्यवहार गर्ने :

-दैनिक करिब २ लिटर पिसाब हुने गरी पानी तथा झोल पदार्थ पिउने ।
-रक्तचाप र मधुमेहलाई सन्तुलनमा राख्ने ।
-चिकित्सकको परामर्शविना बजारमा पाइने दुखाइ कम गर्ने औषधि सेवन नगर्ने ।
-उचाइबमोजिमको तौल कायम गर्ने
-नियमित व्यायाम गर्ने । विशेषगरी बेलुका खाना खाएको १५ मिनेटपछाडि करिब आधा घन्टा हिँड्ने ।
-धुम्रपान नगर्ने । स्वस्थ जीवनशैली अपनाउने ।

मिर्गौला रोग र डायलाइसिस 
मिर्गौलामा समस्या भएपछि अर्थात् मिर्गौलाले काम गर्न छाडेपछि मेसिनद्वारा रगतमा जम्मा भएका विषालु पदार्थ र पानी निकालेर रगतलाई सफा गरी पुनः शरीरमा पठाइने प्रविधिलाई हेमोडायलाइसिस भनिन्छ । यो उपचार सातामा २ वा ३ पटक स्वास्थ्य संस्थामा गएर गर्नुपर्छ । एकपटक गर्न कम्तीमा चार घन्टा लाग्छ । पेटमा एक प्रकारको विशेष पानी राखी रगत सफा गरिने प्रविधिलाई पेरिटोनियल डायलाइसिस भनिन्छ । यो घरमै बसेर गर्न पनि सकिन्छ ।

मिर्गौला प्रत्यारोपण
स्वस्थ मानिसको एउटा मिर्गौला झिकी अपरेसनद्वारा मिर्गौला बिग्रेको व्यक्तिमा राख्ने प्रक्रिया मिर्गौला प्रत्यारोपण हो । मिर्गौला प्रत्यारोपण गर्दा बिग्रेको मिर्गौलालाई चलाइँदैन र नयाँ मिर्गौला त्यसैको अलि तलपट्टि प्रत्यारोपण गरिन्छ । मिर्गौला प्रत्यारोपण गरेपछि डायलाइसिस गर्नुपर्दैन तर आजीवन औषधि भने सेवन गरिरहनुपर्छ । एजेन्सीको सहयोगमा

Leave a Reply