जनयुद्ध प्रभावित क्षेत्र म्याग्दी, रुकुम, बागलुङ र रोल्पा जिल्लालाई समेटर निर्माण थालिएको गुरिल्ला पदमार्गबारे प्रचारप्रसार धेरै भएपनि काम भने हुन सकेको छैन।

एक दशक अघिदेखि चर्चा चल्न थालेको यस  पदमार्गलाई व्यवस्थित बनाउन कुनैपनि योजना नबनेको सरोकारवालाहरू बताउँछन्‌।​

अमेरिकी नागरिक अलोन्डो लोन्सले पदयात्रा गरी माओवादी युद्धको केन्द्रविन्दु मानिएको म्याग्दी, बागलुङ, रुकुम र रोल्पा जिल्लाका विभिन्न ग्रामीण बस्तीहरू हुँदै विस्तार गरिएको पद मार्गको नक्सा तयार गरेका थिए।

यसका लागि राज्यका निकाय र पर्यटन क्षेत्रमा सक्रिय संघसंस्थाले चर्चा गर्ने गरेपनि आवश्यक पूर्वाधार बनाउन कुनै पहल गरेका छैनन्।

पदमार्गमा केही वर्ष पूर्वाधार लगायत काम गर्ने योजना बनाइएपनि पर्यटन क्षेत्रमै संलग्न भएका संघसंस्थाको उदासीनताका कारण कामले गति लिन नसकेको हो।

नेपाल पर्यटन बोर्ड, राष्ट्रिय प्रकृति संरक्षण कोष, म्याग्दी र रुकुमको पहलमा द्वन्द्व प्रभावित क्षेत्रका बासिन्दाको आर्थिक स्तर उकास्न र विदेशी पर्यटकहरूलाई युद्धकालीन दिनचर्या, विकट बस्तीको जनजीवन, मगर संस्कृतिको अनुभव दिलाउन तथा माओवादीको सेल्टरलाई आधार बनाई पदमार्ग नामाकरण गरिएको थियो।

पदमार्गको व्यवस्थापन र पूर्वाधार विस्तारमा प्रतिबद्धता जनाएका राज्यका निकायहरूले समेत बेवास्ता गर्दा सम्भावना र द्वन्द्वकालीन अवस्थालाई झल्काउने गाउँ-बस्ती समेटिएको क्षेत्र नै ओझेलमा परेको हो। पदमार्गको रुटमा पर्ने अधिकांश क्षेत्र युद्धकालीन समयमा माओवादीको सेल्टर मानिन्थे।

म्याग्दीको पश्चिमी व्यापारिक केन्द्र दरवाङ, ताकम धारापानी, मुना, बागलुङको ढोरपाटन क्षेत्र र रुकुम हुँदै रोल्पाको सुलीचौरसम्म यो मार्ग प्रस्ताव गरिएको छ। पदमार्गमा पर्ने अधिकांश बस्तीहरूमा मगर समुदायको बाहुल्यता रहेको छ।

पदमार्ग संचालनमा ल्याए त्यसको सबैभन्दा धेरै फाइदा म्याग्दीलाई हुन्छ। पदमार्गका धेरै बस्ती र स्थान म्याग्दीमा पर्ने र गन्तव्यमा पुगेर फर्कंदा समेत म्याग्दी प्राथमिकतामा पर्ने देखिन्छ। मगर र अन्य समुदायको संस्कृति, प्राकृतिक सम्पदा, हिमश्रृङखला, ग्रामिण जीवनशैली र स्थानीयबासीको द्वन्द्वकालको अनुभव यो पदमार्गको आकर्षण रहेको छ।

नक्सांकन, प्रष्ट रुटको पहिचान, गाइड बुकको अभावले पर्यटक बीच बाटोबाटै फर्कने गरेको स्थानीयले बताएका छन्। पदमार्गमा माओवादीले म्याग्दी र रुकुमको सदरमुकाम आक्रमणका क्रममा बनाएको तालिम केन्द्र, सैन्य अभ्यास, माओवादी नेताहरूको बासस्थान लगाएत समेत पर्ने भएकाले पनि खानेपानी, शौचालय सहितका आवश्यक पूर्वाधार तत्काल आवश्यकता रहेको धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले बताए।

‘हल्ला धेरै भयो, काम केही भएको छैन, यो क्षेत्रबाट जोडिने धौलागिरि बेसक्याम्प जाने पदमार्ग समेत अलपत्र अवस्थामा छ,’ उनले भने। धौलागिरि बेसक्याम जान ताकम, मुदी हुँदै पदमार्ग व्यवस्थित बनाउन नसक्दा पर्यटकले अन्यत्रबाट जाने गरेको बताउँदै जिल्लामा पद मार्गबारे कुनै पनि योजना नभएकाले पनि समस्या कायम रहेको छन्त्यालले गुनासो गरे।

जिल्ला समन्वय समिति म्याग्दीका उपप्रमुख लोकबहादुर मल्लले पद मार्गबारे जानकारी भएपनि कुनैपनि योजना जिल्ला समन्वय समितिमा समावेश नभएको बताए। जिससले पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा प्राथमिकता दिने भएपनि सहकार्यको अभावमा केही महत्वपुर्ण योजना समेत अगाडी बढ्न नसकेको उनको भनाइ छ।

समय अनुकूल २७, १९ र १४ दिनको तीनवटा प्याकेजमा यो पदयात्राको भ्रमण गर्न सकिन्छ। सबैभन्दा छोटो १४ दिन र बढीमा २७ दिनमा पदयात्रा पुरा गर्न सकिन्छ।

फाट्टफुट्ट पर्यटक : हुँदैन कुनै भर

सशस्त्र द्वन्द्वका बेला गुरिल्ला हिँड्ने बाटोमा पछिल्लो केही समय यता आन्तरिक तथा बाह्य पर्यटक हिँड्न थालेका थिए। तर, गत वर्षदेखि शुरू भएको कोरोना महामारीका कारण अन्य क्षेत्रहरूजस्तै यो क्षेत्र पनि थलिएको छ।

गुरिल्ला पदमार्गमा फाट्टफुट्ट विदेशी तथा आन्तरिक पर्यटक हिड्न थालेको समयमा नै कोरोना महामारी शुरू भयो। अहिले भने यो क्षेत्र सुनसान जस्तै देखिन थालेको गुर्जाका मनबहादुर विकले बताए।

सरकार र तत्कालीन माओवादी द्वन्द्वका कारण प्रख्यात बनेका रुकुम, रोल्पा, म्याग्दी बागलुङ लगायतका जिल्लाका ग्रामीण वस्तीहरूलाई लक्षित गरेर नेपाल पर्यटन बोर्ड, प्रकृति संरक्षण कोष र जिल्ला समन्वय समिति रुकुमको पहलमा गुरिल्ला पदमार्ग नाम सहित नयाँ रुट तयार गरेपछि द्वन्द्वग्रस्त क्षेत्रमा पर्यटकको आगमन बढ्ने अपेक्षा गरिएको थियो।

द्वन्द्वबाट प्रभावित क्षेत्रका बासिन्दाको आर्थिकस्तर उकास्न र विदेशी पर्यटनलाई युद्धकालीन दिनचर्या, विकट वस्तीको जनजीवन र मगर संस्कृतिका अनुभव दिलाउन संचालन गरिएको यो पदमार्ग अहिले ओझेलमा पर्दै जान थालेपछि भविष्य समेत अनिश्चित बनेको यस क्षेत्रका अगुवाहरूको भनाइ रहेको छ।