पश्चिम म्याग्दी जोड्ने मुख्य मार्ग बेनी–दरबाङ सडकखण्ड अन्तरगत मंगलाघाटमा ठेकेदारले निर्माणमा ढिलासुस्ती गरेको भन्दै स्थानीयवासीले एकघण्टा आवागमन अवरुद्ध पारेका छन् ।

तल्लो र माथिल्लो मंगलाघाटमा आवतजावत गर्ने सडकको जिम्मा लिएका ठेकेदार कम्पनीले  निर्माणकार्यमा आलटाल गरेपछि मंगलाघाट टोल विकास संस्थाको अगुवाईमा शुक्रबारदेखि चरणबद्ध आन्दोलनको घोषणा गरिएको छ ।स्थानीयवासीले हिमपाइप राखेर पर्चा सहित सडक अवरुद्ध पारेपछि पश्चिम म्याग्दीबाट आवतजावत गर्ने सवारीसाधन ठप्प भएको थियो ।

Link : https://youtu.be/9IMOONjztrc

मंगलाघाट टोल विकास संस्थाका अध्यक्ष कृष्णबहादुर बानियाँले जिल्लामा सांसद, मन्त्री, बेनी नगरपालिकाका मेयर, प्रजिअ लगायतलाई गरिएको अनुरोधलाई बेवास्ता गरेपछि बाध्य भएर बाटो नै बन्द गर्नुपरेको बताए ।

‘बाटो बन्द नगरी सुन्ने अवस्था नै देखिएन्,‘ज्ञापनपत्र बुझाउँदा–बुझाउँदै वाक्क भएका छौ’ अध्यक्ष बानियाँले भने । उनका अनुसार गएको असारमा बस्ती माथिबाट खसेको बाढीले समेत उच्च जोखिम बनाएको मंगलाघाट क्षेत्रमा विगतको प्रतिबद्धता अनुसार काम समेत नभएको बताए ।

स्थानीयबासीले एकजुट भएर आन्दोलनका कार्यक्रमहरु सुरु गरेपछि सरोकारावाला निकायले समेत समस्याको समाधानमा सघाउने प्रतिबद्धता जनाएपनि काम सुरु नहुदाँसम्म आन्दोलनका कार्यहरु स्थगित नहुने न्यू मंगला टोल विकास संस्थाका अध्यक्ष क्या. धर्मराज बानियाँले बताए ।

सडक विस्तार र कालोपत्रे गर्न बेनी नगरपालिकाको कार्यालय अगाडिदेखि मंगलाघाट जाने सडकमा ढिलासुस्ती हुदाँ सडकको धुलो र हिलोले स्थानीयवासी प्रभावित भएका छन्। सघन सहरी कार्यालय, प्रशासन, नगरपालिका र ठेकेदारबीच भएको सहमति अनुसार काम भएको छैन् ।

नगरपालिकादेखि मंगलाघाट क्षेत्रसम्मको सडकमा अक्सपाल्टको प्लान्ट समेत स्थापना गरिएकाले बैशाख महिनाभित्र काम गर्ने प्रतिबद्धता जनाइएपनि माथिल्लो मंगलाघाट हुदै दरबाङ जोड्ने सडकखण्डको कामका बारेमा सम्बन्धित निकाया समेत अलमलमा परेको छ ।

मंगलाघाटका स्थानीय यूवाले कुनैपनि हालमा काम सुरु नभए आन्दोलनलाई थप कडाई गर्ने बताए । आन्दोलनरत पक्ष, ठेकेदार, जनप्रतिनिधि सहितको टोलीको बैठक प्रजिअ गणेशबहादुर अधिकारीको निवासमा बसिरहेको छ ।

 

Leave a Reply