‘हेप्नु हेप्यौ तिमीले, देखाइदिन्छौं हामीले’ लेखेको प्लाकार्ड बोकेर एक हुल मानिस सडकमा सवारी साधन रोकेर उभिएका छन्। चक्काजामका लागि उभिएका युवायुवती र वृद्धबृद्धाहरू निकै आक्रोशित देखिन्छन्। यो दृश्य म्याग्दीको सदरमुकाम बेनीबजारको पश्चिमी क्षेत्र मंगलाघाटको हो।

एक वर्षदेखि अलपत्र निर्माणाधिन मंगलाघाट–हाडेभिर–बगरफाँट सडक आयोजनालाई पूर्णता दिन मागगर्दै स्थानीयबासी आन्दोलनमा उत्रिएका हुन्। धुलो र हिलोले आजित भएका मंगलाघाटबासिले सडक निर्माण सुरु गराउन दवावका लागि जिल्ला प्रशासन कार्यालय घेराउ र चक्काजाम गरेका छन्।

मंगलाघाटदेखि हाडेभिर- बगरफाँट जोड्ने एक हजार सय मिटर सडक कालोपत्रे गर्ने योजनालाई पूर्णता दिन मागगर्दै बेनी नगरपालिका–७ मंगलाघाटका बासिन्दाले शुक्रबार बेनी–दरवाङ सडकमा एक घण्टा चक्काजाम र जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन्।

निर्माण ब्यवसायी र सम्बद्ध कार्यालयले प्रतिवद्धता अनुसार सडक कालोपत्रे गर्न बेवास्ता गरेपछि मंगलाघाटका तीन वटा टोल सुधार समिति, वौद्ध युवा क्लव र आमा समूहले संयुक्त आन्दोलन गरेको मंगलाघाट टोल सुधार समितिका अध्यक्ष खिमबहादुर छन्त्यालले बताए।

सघन सहरी बिकास डिभिजन कार्यालय बागलुङले सञ्चालन गरेको मंगलाघाटदेखि बेनी नगरपालिका–२ हाडेभिर हुँदै बगरफाँट जोड्ने सडक कालोपत्रेमा भएको ढिलासुस्तिले नागरिकलाई सास्ति मात्र दिएको छैन साँघुरो सडक छेउमा थुपारिएका निर्माण सामग्रीले आवत जावतमा समस्या र दुर्घटनाको जोखिम बढाएको छ।

मंगलाघाट मंगला, मालिका र धवलागिरी गाउँपालिका र हाडेभिर भकिम्ली, सिंगा र बरंजालाई सदरमुकाम बेनीसँग जोड्ने सडकको नाका हो। दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य सहित २०७५ माघ २२ गते देब एण्ड सायर–बिएन–त्रिशक्ति जेभीले पाँच करोड रुपैयाँमा ठेक्का लिएको योजनाको म्याद २०७७ माघमा सकिएपनि निर्माण ब्यवसायीले काम सूचारु गर्न बेवास्ता गरेको छ। बेनी नगरपालिका–७ का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले समयमै सडक नबन्दा स्थानीय आन्दोलनमा उत्रेको बताए।

कोरोनाको जोखिम, लकडाउन, भेरिएसन अर्डनमा भएको ढिलाई र पर्याप्त बजेट नहुँदा आयोजनाको काम प्रभावित भएको निर्माण ब्यवसायीको तर्क छ। हालसम्म दुई करोड रुपैयाँ भुक्तानी लगेका निर्माण ब्यवसायीले करिब डेढ वर्षपछि यसै हप्तादेखि बगरफाँट क्षेत्रमा नाली निर्माण सुरू गरेको छ।

२०७५ साउनमै मंगलाघाटको तल्लो बजार क्षेत्रमा करिब दुई सय मिटर सडक ढलान गरेको निर्माण ब्यवसायीले बैशाख महिनाभित्र कालोपत्रे गरिसक्ने देब एण्ड सायर–बिएन–त्रिशक्ति जेभीका प्रतिनिधि नारायण जिसीले बताए।

‘हामीले सडक कालोपत्रे गर्नका लागि आवश्यक पर्ने सबै सामग्री ल्याइसकेका छौँ’ अबको केही दिनमा मंगलघाटमा कालोपत्रे सुरु गछौँ।’ चालु आर्थिक वर्षमा ८० लाख रुपैयाँ बिनियोजन भएको योजनाका ठेकेदारले यसअघि गरेको कामको समेत भुक्तानी नभएको जनाएको छ।

Leave a Reply