फोटो पत्रकारसमेत रहेकी पूर्णिमा श्रेष्ठ र उनको टोलीले शुक्रबार दिउँसो ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको सफल आरोहण गरेर अन्नपूर्ण हिमाल आरोहण गर्ने प्रथम नेपाली महिलाको कीर्तिमानी बनाएका छन्।

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा पर्ने यो हिमाल आरोहणका लागि पूर्णिमाको टोली गत चैत ८ गते काठमाडाैंको सेभेन समिट ट्रेकिङ कम्पनीमार्फत म्याग्दीको नारच्याङबाट उकालो लागेको थियो।

पूर्णिमालगायत ६ नेपाली महिलाले आज दिउँसो १ः३० बजे अन्नपूर्ण हिमालको सफल आरोहण गरेका सेभेन समिटका अध्यक्ष निग्मा शेर्पाले जानकारी दिए।

फ्रान्सेली नागरिक मारिस हर्गोजले सन् १९५० जुन ३ मा अन्नपूर्ण प्रथम हिमालको पहिलो पटक आरोहण गरेका थिए। आरोहणको तीन वर्षपछि मात्र सगरमाथामा मानव पाइला परेको थियो। आठ हजार मिटर अग्ला हिमालमध्ये मानव पाइला परेको पहिलो हिमाल हो।

पूर्णिमा श्रेष्ठ गोरखाको आरुघाटकी स्थायी बासिन्दा हुन्। उनी ‘कारोबार आर्थिक दैनिक’मा कार्यरत पत्रकार हुन्। श्रेष्ठसँगै दावा याम्जुङ शेर्पा, पासाङ ल्हामु शेर्पा, शर्मिला तामाङ, दावा फुटी शेर्पा र माया शेर्पाले अन्नपूर्ण हिमालको आरोहण गरेका हुन्।

श्रेष्ठले यसअघि सन् २०१८ मा सगरमाथा,२०१७मा मनास्लु र २०१९मा आमादब्लम हिमालको आरोहण गरेकी थिइन्। उनी म्याग्दीको नारच्याङ हुँदै अन्नपूर्ण आधारशिविर जोड्ने मौरिज हर्गोज पदमार्थको प्रयोग गरेर आरोहणमा गएकी थिइन्।

यो पदमार्ग प्रयोग गरेर अन्नपूर्ण हिमाल आरोहण गर्न गएको श्रेष्ठको टोली नै पहिलो टोली भएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्या.डमबहादुर पुनले बताए।

Leave a Reply