पश्चिम म्याग्दीको मंगला गाउँपालिका-२, बाबियाचौरस्थित लाम्पाटामा अवस्थित मंगला शिक्षा क्याम्पसमा अक्षयकोष अभियान सुरु भएको छ । क्याम्पसको आर्थिक संकट समाधान गदैं अन्तराष्ट्रियस्तरको गुणस्तर प्रमाणपत्र प्राप्ती, प्राविधिक धारका विषय सञ्चालनका लागि मंगला–५ नेटा गाउँबाट शुभारम्भ गरिएको छ ।

शुक्रबार मंगला–५ नेटा गाउँमा आयोजित कार्यक्रममा रनबहादुर र बर्षिया लिलावती थापाले १ लाख १ सय १ रुपैयाँ तथा ९५ बर्षिय ज्येष्ठ नागरिक गोर्वधन रोकाले १ लाख ५० हजार १५१ रुपैयाँ आर्थिक पूर्वाधार समितिका संयोजक यशुदा रोकालाई हस्तान्तरण गर्नुभएको क्याम्पस प्रमुख पितमबहादुर खत्रीले दिनुभयो ।

अक्षय कोषमार्फत क्याम्पसमा देखिएको समस्या समाधानको अभियानमा जुटेको टोलीलाई घरमै स्वागत भविस्यमा पनि सहयोगको प्रतिबद्धता जनाउनुभएको क्याम्पस प्रमुख खत्रीको भनाई छ । सहयोगदाता रनबहादुर र लिलावती क्याम्पस सञ्चालक समिति अध्यक्षका मातापिता तथा गोर्वधन मामा हुनुहुन्छ ।

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै आर्थिक संयोजक रोकाले स्वदेश तथा विदेशमा रहेका मंगलबासीलाई क्याम्पसको अभियानमा साथ दिन अपिल गर्नुभएको छ । ‘पश्चिम म्याग्दीकै शैक्षिक हब बनाउने अभियानमा छौ,‘यसअगाडीको सहयोगले क्याम्पस यहाँसम्म आइपुगेको छ’ संयोजक रोकाले भन्नुभयो ।

उहाँले विगतमा स्वदेश तथा विदेशमा रहेका मंगलबासीको सहयोगकै कारण क्याम्पसमा धमाधम पूर्वाधार सहित दिर्घकालिन योजना सुरु भएको बताउँदै अब अर्कोपटक सहयोग जुटाउन नपर्ने गरी अभियानमा जुटेको बताउनुभयो । सोही अवसरमा सञ्चालनक समितिका अध्यक्ष थापाले आफ्नो जीवनमा पाएको एउटा महत्वपूर्णे अवसरलाई पुरा गर्ने प्रतिबद्धता जनाउनुभयो ।

‘मेरो बुबाआमाले नै अभियानमा सहयोग गरेपछि थप उर्जा मिलेको छ,‘मंगला क्याम्पस बनेमा घरबाटै क्याम्पस पढ्न जान सहज हुन्छ’ अध्यक्ष थापाले भन्नुभयो । क्यूएए प्राप्तीको प्रक्रियाका लागी गाउँपालिकाले आर्थिक विनियोजन गरेकाले अभिमुखीकरण गोष्ठी सहितका अन्य तयारी समेत सुरु भइसकेको छ ।

शैक्षिक गतिविधिलाई नै सघाउने गरी २ करोड कोष स्थापना गर्ने लक्ष्य रहेको क्याम्पसले जनाएको छ । यसअघि मंगला शिक्षा क्याम्पसको भवन निर्माणका लागि जग्गा खरिद गर्न स्वदेश तथा विदेशबाट गरी झण्डै साढे ८७ लाख रुपैयाँ आर्थिक सङ्कलन गरिएको थियो ।

सङ्कलित रकमबाट बाबियाचौरको लाम्पाटामा साढे ३३ रोपनी जग्गा खरिद गरी क्याम्पसको भवन निर्माण गरिएको छ ।क्याम्पसमा स्थानीय, प्रदेश र संघीय सरकारबाट समेत बजेट विनियोजन भएकाले पूर्वाधार विस्तारले समेत तिब्रता पाएको छ । क्याम्पसमा पश्चिम म्याग्दीका साथै छिमेकी बागलुङ जिल्लाबाट समेत विद्यार्थी अध्यायनका लागि आउने गरेका छन् ।

Leave a Reply