गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले नसर्ने रोगको न्युनीकरण गर्नका लागि जनसमुदायस्तरमा सचेतनासम्बन्धी कार्यक्रम सञ्चालनको तयारी भैरहेको बताएकी छन् ।

वन हार्ट वल्डवाइडद्वारा सञ्चालित मातृ तथा नवजात शिशुका लागि सुरक्षा सञ्जाल परियोजना शुभारम्भ कार्यक्रमलाई शुक्रबार म्याग्दी सदरमुकाम बेनीमा सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

मन्त्री पुनले म्याग्दी जिल्लाको मंगला गाउँपालिका र बेनी नगरपालिका क्षेत्रमा नसर्ने खालका रोगको साथै मिर्गौला फेल हुने क्रम अधिकांश नागरिकमा रहेकाले यसको न्युनीकरण गर्न समुदायस्तरमा जनचेतनाका कार्यक्रमहरु सञ्चालन गरिने बताइन् ।

धवलागिरि र मालिका गाउँपालिकामा बढ्दो बालविवाहको समाधान गर्न ‘बिहेबारी, २० वर्षपारी’ अभियान चलाइने जानकारी दिइन् । त्यस्तै रघुगंगा र अन्नपूर्णमा विद्यालय तहमा विद्यार्थीहरुलाई लक्षित गरेर नसर्ने खालको रोगको बारेमा जानकारी गराउन अभियान चलाइने प्रदेश सरकारले तयारी गरिरहेको मन्त्री पुनले बताइन् ।

उनले महिला दिदीबहिनीहरुलाई आइरन चक्की खान दिनुभन्दा कुन–कुन खानेकुरा खाएपछि आइरन तत्व पाइन्छ भन्ने विषयमा सिकाउन आवश्यक रहेको बताइन् ।

सामाजिक विकास मन्त्रालय जनस्वास्थ्य महाशाखाका प्रमुख शम्भु ज्ञवालीले नेपालमा एउटा परिवारले दुई दशमलव ३ प्रतिशत बच्चा जन्माउने तथ्याङ्क रहेको बताउँदै गण्डकी प्रदेशमा सरदरमा एक परिवारले २ वटा बच्चा जन्माउने गरेको बताए ।

उनले नेपालमा परिवार नियोजनका अस्थायी साधनहरु अपनाउनेहरुमा ४३ प्रतिशत रहेकोमा गण्डकीमा ३७ प्रशित रहेको भन्दै गण्डकी प्रदेशमा ७० प्रतिशत महिलाहरु स्वास्थ्य संस्थामा प्रसुति भए पनि अझै ३० प्रतिशत महिला घरमै सुत्केरी हुने तथ्याङ्क रहेको बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले जिल्लामा कार्यक्रम सञ्चालन गर्दा स्थानीय तहसँग सहभागिता जनाउने र समन्वय गर्नुपर्ने बताए । उनले जिल्लाका संघंसंस्था तथा गैरसरकारी संस्थासँग आवश्यक समन्वय गरी सहभागितामा कार्यक्रम गर्न सुझाव दिएका छन् ।

धवलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले जिल्लामा नयाँ कार्यक्रमको रुपमा मातृ तथा नवजात शिशुलाई लक्षित गरी वन हार्ट वल्डवाइड परियोजना आएकाले जतिसक्दो छिटो समुदायस्तरमा कार्यक्रम सुरु गर्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष दिपक पौडेल र निवर्तमान अध्यक्ष हरिप्रसाद पौडेलले अन्तर्राष्ट्रिय आईएनजिओले जिल्लामा कार्यक्रम सञ्चालन गर्दा गैसस तथा अन्य संघसंस्थासँग समन्वय गर्न माग गरेका छन् ।

६ वर्षको अवधि रहेको परियोजनाको आगामी २०२२ को अप्रिलसम्म कार्यक्रमका लागि एक करोड आठलाख ८९ हजार रुपैयाँ बजेट स्वीकृत भएको छ । वन हार्ट वल्डवाइडका वरिष्ठ कार्यक्रम संयोजक बबिता विन्दुले सहजीकरण गरेको कार्यक्रम जिसस प्रमुख केसीको अध्यक्षता, स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालको स्वागत र पब्लिक हेल्थ नर्स दुर्गा शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply