म्याग्दीको सदरमुकाम बेनीमा हिंसा पीडित तथा प्रभावितका लागि अल्पकालीन सेवा केन्द्र सञ्चालन गरिएको छ ।

गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक तथा बेनी नगरपालिकाको ब्यवस्थापनमा हिंसामा परेका व्यक्तिहरूलाई आश्रय दिने उद्देश्यले स्थापना गरिएको अल्पकालिन सेवा केन्द्रको गण्डकी प्रदेश सामाजिक विकासमन्त्री नरदेवी पुनले उद्घाटन गर्नुभयो ।

जिल्लाभित्र घरेलु तथा यौनजन्य हिंसाबाट पीडित महिला,मानसिक सन्तुलन गुमाएका, अलपत्र अवस्थामा भेटिएकालाई अल्पकालिन रुपमा आश्रय दिने स्थानको अभावलाई समाधान गर्न केन्द्रको स्थापना गरिएको मन्त्री पुनको भनाई छ ।

‘यहाँ महिलाहरुको रेखदेख र परामर्श हुन्छ,हिंसाका शिकार भएकाहरुलाई अल्पकालीन आश्रय दिन सुरक्षित आवास गृह हो’ मन्त्री पुनले भन्नुभयो ।

म्याग्दली जिल्लामा घरेलु हिंसा, बलात्कार, बोक्सीको आरोपमा लगायत हिंसाको शिकार भएका महिलालाई केन्द्रले उद्धार गरी भविस्यमा स्वरोजगार तथा उद्मशीलता विकासमा समेत सघाउने मन्त्री पुनले बताउनुभयो ।

केन्द्र उद्घाटनको अवसरमा प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारी, नेकपा एमालेका अध्यक्ष हरिकृष्ण श्रेष्ठ नेपाली कांग्रेस म्याग्दीका उपसभापति माधवप्रसाद रेग्मी, प्रहरी नायव उपरीक्षक श्यामकुमार राई,बेनी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुबेदी, बेनपा ८ का वडा अध्यक्ष रामकृष्ण बराइली, गैसस म्याग्दीका अध्यक्ष दिपक पौडेल लगायतले हिंसा जस्ता संवेदनशील समस्या बाहिर ल्याउन हिचकिचाउने समाजमा केन्द्र स्थापना भएपछि पीडितलाई खुलेर आउन आश्रय केन्द्रले ठूलो सहारा दिने विश्वास ब्यक्त गर्नुभएको थियो ।

बेनी नगरपालिका उपमेयर सञ्जु बरुवालले पीडित तथा प्रभावितहरूलाई आवासीय सेवा सहित कानुनी सहायता, मनोसामाजिक परामर्श र स्वास्थ्य सेवा उपलब्ध गराउने बताउनुभयो । जिल्लाभरका सबै स्थानीय तहमा हिंसामा परेकालाई केन्द्रमा राखिने उपमेयर बरुवालको भनाई छ ।

हालसम्म केन्द्रले २ महिलालाई उद्धार तथा उपचार गरेको छ । हिंसामा परेका महिलालाई आवश्यक हरेक प्रकारको सेवाहरु उपलब्ध गराउने केन्द्रले जनाएको छ ।  कार्यक्रमको अध्यक्षता उपमेयर बरुवाल, स्वागत वडा नं ७ अध्यक्ष राजेन्द्र श्रेष्ठ र सञ्चालन केन्द्रकी प्रमुख रञ्जना श्रेष्ठले गर्नुभएको थियो ।

Leave a Reply