---Advertisement---

कुश्मामा करिब ११ करोडको लगानीमा जिपलाइन र सिसाको स्काई-ब्रिज बन्दै

On: April 18, 2021 12:20 PM
Follow Us:

अग्ला र लामा झुलुङ्गे पुलको क्षेत्र भनेर चिनिएको पर्वतको कुश्मा पछिल्लो समय एड्भेन्चर पारखीको आकर्षणको केन्द्र बन्दै गइरहेको छ। यही माहोललाई मध्यनजर गरेर हार्नेस जिपलाइन प्रालिले रिसोर्टसहित जिपलाइन, ह्युमन स्लिङसट र सिसाको स्काई ब्रिजको निर्माण सुरू गरेको छ।

एकै पटकमा दुई अलग लाइनमा सुपरम्यान र क्लासिक खेल्न सकिने जिपलाइनको ८० प्रतिशत काम सम्पन्न भैसकेको कम्पनीका अध्यक्ष बिदुर पौडेलले बताए।

‘कुश्माको चाक्लेडिलबाट सुरू हुने जिपलाइनले २ पटक कालीगण्डकी नदी क्रस गर्ने हुँदा थप एड्भेन्चर हुन्छ,’ पौडेलले भने, ‘साउने बौरमा ‘बिच’ डिजाइनमा बन्ने रिसोर्टमा जिपलाइनको ल्याण्डिङ हुने भएकोले थप रोमाञ्चाक हुनेछ।’

११ करोड लगानी आकलन गरिएको परियोजनामा वैशाखभित्र जिपलाइन सुरू गरिने र दोस्रो चरणमा एकै पटकमा चार जना खेल्न मिल्ने हाइड्रोलिक पिङ, ह्युमन स्लिङसट, सिसाको स्काई ब्रिज र स्वीमिङ पुलसहितको रिसोर्ट निर्माण गरिने कम्पनीका निर्देशक राजकुमार बस्नेतले जानकारी दिए।

करिब ७० जनाको आवासीय क्षमताको बन्ने रिसोर्ट आगामी दशैंसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको बस्नेतले बताए। राजकुमार बस्नेत, सुनिल सिंह बानियाँ, बिदुर पौडेल, रामचन्द्र जोशी, सूर्यबहादुर क्षेत्री, नरेन्द्र बहादुर खत्री र सागर जोशी लगानीकर्ता रहेको कम्पनीले कालीगण्डकी नदीमा र्‍याफ्टिङ समेत सञ्चालन गर्ने योजना बनाएको छ। Setopati.com