कालीगण्डकी करिडोरको मालढुंगा–बलेवा विमानस्थल १० किलोमिटर खण्ड मर्मतको काम सुरु गरिएको छ । नेपाली सेनाले ट्र्याक खोलेर कालीगण्डकी करिडोर आयोजनालाई हस्तान्तरण गरेपछि भत्किएका संरचना मर्मतको काम सुरु गरिएको हो ।

चैतको दोस्रो सातादेखि सुरु भएको काम धमाधम चलिरहेको छ । सडक विभागअन्तर्गत सडक डिभिजन कार्यालय बागलुङले करिडोर मर्मतको काम थालेको हो । मालढुंगादेखि बलेवा विमानस्थलसम्म पहिराका कारण भत्किएका संरचना पुनर्निर्माण हुनेछन् । करिडोरमा खसेको पहिरो पन्छाउने काम सुरु गरिएको इन्जिनियर सुरेन्द्र गौतमले बताएका छन् ।

२ वर्षअघि नेपाली सेनाले ट्र्याक खोलेर सडक विभागअन्तर्गत आयोजनालाई हस्तान्तरण गरेपछि भत्किएका संरचना पुनर्निर्माण हुन सकेका थिएनन् । १० किलोमिटर खण्डमा आएको पहिरो पन्छाउने, तारजाली लगाउने र भत्किएका ठाउँमा मेशिनरी पर्खाल बनाउँदा वर्षाको समयमा समेत सडक सञ्चालनमा सहज हुनेछ ।

‘ट्र्याक खुला भएका सडक बाह्रै महिना चलून् भन्ने हो ।’ इन्जिनियर गौतमले भने, ‘अवरोध हटाउनकै लागि मर्मतको काम थालिएको हो ।’ विभागले ५ करोडको लागतमा १० किलोमिटर खण्ड मर्मतका लागि अख्तियारी पठाएको थियो । सोही अनुसार ठेक्का प्रक्रिया पूरा गरेर काम सुरु गरिएको गौतमले बताएका छन् । लामा÷आइएस÷एसी जेभीले करिडोर मर्मतको जिम्मेवारी लिएको छ ।

२ करोड ६५ लाखमा जिम्मेवारी पाएको कम्पनीले आगामी असार २५ गतेभित्र अनुमान अनुसारका संरचना बनाउने छ । १३ हजार १ सय ३५ घनमिटर पहिरो पन्छाइने, ३७ घनमिटर तारजाली लगाउने र १ हजार ६ सय २२ मिटर मेशिनरी वाल बनाउने अनुमान छ । योजनाअन्तर्गत आवश्यक ठाउँमा रिटर्निङ वाल, कङ्क्रिट वाल र सडकमा रहेका ढुंगामाटो पन्छाउने काम रहेको इन्जिनियर गौतमले बताए । मर्मतको काम गरिरहेको कम्पनीले समयमै काम सकिने दाबी गरेको छ । ‘बजेट थपिँदैन भन्नुभएको छ, मजदूर प्रशस्त रहेकाले काम धमाधम भइरहेको छ । कम्पनीका सञ्चालक दीपक अदैले भने, ‘तोकेकै समयमा काम सक्छौं ।’

राष्ट्रिय गौरवको आयोजना भए पनि ट्र्याक खुलेर हस्तान्तरण भएपछि मर्मत हुन सकेको थिएन । कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पामा रहेको र यहाँका स्थानीय तहले बेवास्ता गरेका कारण करिडोरको १० किलोमिटर खण्डमा कैयौं ठाउँमा अवरोध छ । बिहीबार वर्षापछि आएको बाढीले कालाखोला क्षेत्रमा क्षति पु¥याएपछि कठिनले सवारी चलिरहेका छन् । ‘मालढुंगाबाट काम सुरु भएको छ, बढीमा ७ किलोमिटरमा यस वर्ष काम हुन्छ ।’ गौतम भने ।

 

Leave a Reply