बागलुङ र पर्वत जिल्ला जोड्ने कालीगण्डकी नदीमाथि निर्मित विश्वकै लामो दाबी गरिएको झोलुङ्गे पुलमा प्रवेश गरेबापत बागलुङ नगरपालिकाले सर्वसाधारणबाट शुल्क उठाउन थालेको छ।

बागलुङ नगरपालिकाले पुलमा सर्वसाधारणको चाप बढ्दै जान थालेपछि पूर्वाधार शुल्कबापत साधारण ब्यक्तिलाई २०, अपाङ्ता, ज्येष्ठ नागरिकलाई रु १० र विदेशी पर्यटकलाई ५० रुपैयाँ तोकेको छ भने पुल जोडिएको क्षेत्रका स्थानीयलाई निशुल्क गरिएको हो ।

पुलमा आवतजावत गर्ने सर्वसाधारणहरुबाट संकलन गरिएको शुल्कले पुलको मर्मत तथा आवश्यक पूर्वाधारमा खर्च गर्ने बताइएपनि हतारहतरामा शुल्क तोकिएको भन्दै विरोध हुन थालेको छ।

झोलुंगे पुल अवलोकन गर्न आउनेको भीड लाग्न थालेपछि कर्मचारी सहितको ब्यवस्थापनमा समेत खर्च लाग्ने गरेको अवस्थामा पूर्वाधार शुल्क मात्रै भएको नगरपालिकाले जनाएको छ । दिनभर सयौँको संख्यामा सर्वसाधारणहरु पुुलमा आवतजावत गर्ने, फोटो खिच्ने गर्दछन् ।

कोरोनाको दोस्रो लहरको जोखिममा रहेको बागलुङको पुलमा सर्वसाधारणको भीड नियन्त्रण गर्न भन्दा पनि शुल्क लिएर थप जोखिममा पारेको भन्दै नगरपालिकालाई तत्काल पुलमा कडाई गर्न समेत सरोकारवाला नियकाले सुझाव दिएपनि वास्ता गरेको छैन् ।

पुलमा हेर्न जाने अधिकांशले मास्कको समेत प्रयोग नगरेको पाइएको छ । पुल सञ्चालनमा आएपछि बागलुङ र पर्वत हुँदै म्याग्दी, मुस्ताङ जाने पर्यटकलाई समेत पुलले आकर्षित गर्नेछ । यो पुल विश्वकै लामो भएको बागलुङ नगरपालिकाले दाबी गरेको छ । पुलको लम्बाई ५७६ मिटर छ ।

Leave a Reply