म्याग्दीको बेनी नगरपालिका-५, चिप्लेटीमा रहेको नहरा निसान कोत मन्दिरको मङ्गलबार शिलालेख अनावरण भएको छ ।

स्थानीय चन्दादाताहरु र सामुदायिक वनको लगानीमा नवनिर्मित कोतमा मङ्गलबार चैतेदसैंको अवसर पारेर शिलालेख अनावरण तथा चन्दादातालाई सम्मान गरिएको हो ।

१४औं शताब्दीमा स्थापना भई बाईसे–चौबीसे राज्यको अवशेषका रुपमा रहेको कोत मन्दिरको नहरा निसान कोत मन्दिर व्यवस्थापन तथा सञ्चालन समितिको अगुवाइमा पुनर्निर्माण गरिएको छ ।

समितिको पहलमा आर्थिक सहयोग सङ्कलन गरी बनाइएको कोत मन्दिरमा सबैभन्दा धेरै चिप्लेटी निवासी हेमबहादुर खत्रीले आफ्ना स्वर्गीय पिता दलबहादुर खत्रीको स्मृतिमा दुईलाख ७१ हजार एकसय ११ रुपैयाँ सहयोग गरेका छन् ।

यसैगरी चिप्लेटीको भाङ्लेपाखा सामुदायिक वन उपभोक्ता समूहले कोत मन्दिर निर्माणमा दुईलाख ७१ हजार १० रुपैयाँ सहयोग गरेको छ भने स्थानीय गणेशबहादुर कार्कीले ३६ हजारबढी, नगेन्द्रबहादुर खत्रीले ३५ हजारबढी र कर्णबहादुर खत्रीले ३० हजार रुपैयाँभन्दा बढी कोत मन्दिरलाई आर्थिक सहयोग गरेका थिए ।

सहयोगी दानदाताहरुलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरी टिका, खादा, फुलमाला र अबिर लगाएर सम्मान गरिएको कोत मन्दिर व्यवस्थापन समितिले जनाएको छ । कोत मन्दिर पुनर्निर्माणका लागि स्थानीयले नगद पाँचसय रुपैयाँदेखि झण्डै पौने तीनलाख रुपैयाँसम्म आर्थिक सहयोग गरेका थिए ।

शिलालेख अनावरण तथा सहयोगी दानदाताहरुलाई सम्मान गर्दै बेनपा–५, पुलाचौरका वडा अध्यक्ष लक्ष्मण बानियाँले स्थानीय चन्दा सङ्कलन गरी ठूलो लगानीमा कोत मन्दिर निर्माण गरेकोमा धन्यवाद व्यक्त गरेका छन् ।

उनले स्थानीयले गरेको लगानीको मुक्तकण्ठले प्रशंसा गर्दै बेनी नगरपालिका र वडा कार्यालयमार्फत धार्मिक, पर्यटकीय तथा ऐतिहासिक क्षेत्रको विकासमा जोड दिइएको बताए ।

कार्यक्रममा बेनपा–५, पुलाचौरका वडा सदस्य तोकबहादुर कार्की, पूर्व गाविस उपाध्यक्ष भोजबहादुर कार्की र दानदाता हेमबहादुर खत्रीले हिन्दु धर्मको संरक्षणका लागि धार्मिक संघसंस्थाको संरक्षण, प्रवद्र्धन, प्रचारप्रसार तथा विकासका लागि लगानी आवश्यक रहेकोमा जोड दिएका थिए । कार्यक्रममा चिप्लेटी टोल विकास समितिका अध्यक्ष भोजबहादुर कार्की, पूर्व मुखिया हेमबहादुर कार्की र आमा समूहको तर्फदेखि विष्णुमाया कुँबरले मन्तव्य राखेका थिए ।

कार्यक्रम नहरा निसान कोत मन्दिरका अध्यक्ष ईन्द्रबहादुर कार्कीको अध्यक्षता र पत्रकार प्रताप बानियाँको सञ्चालनमा सम्पन्न कार्यक्रममा मन्दिरका सचिव तथा स्थानीय अगुवा गणेशबहादुर कार्कीले कोतको इतिहासका साथै पुनर्निर्माण र वर्तमान अवस्थाबारे प्रष्ट पारेका थिए ।

Leave a Reply