नेपालकै लामो झोलुंगे पुलमा आउजाउ गर्ने यात्रीलाई बागलुङ नगरपालिकाले शुल्क लिन थालेपछि चौतर्फी विरोध हुन थालेको छ ।

पुल तर्न २० रुपैयाँ शुल्क तोकिएको हो । नगर कार्यपालिकाले निर्णय गरेर रकम लिन थालिएको २ नम्बर वडाध्यक्ष जीवन आचार्यले बताए । बागलुङको रामरेखादेखि पर्वतको पाङ जोड्ने यो पुल ५ सय ६७ मिटर लामो छ ।वडाध्यक्ष आचार्यले पर्वत र बागलुङका बासिन्दालाई नभई बाहिरबाट आएका पर्यटकलाई मात्र टिकट काट्ने व्यवस्था गरिएको बताए ।

शुल्क लिइएको विषयलाई लिएर स्थानीय रूपमा विरोध भएको छ । नेपाल सरकारको बजेटबाट निर्माण भएको पुलमा पैदल यात्रीमाथि कर लगाउने काम गैरकानुनी भएको स्थानीयको आरोप छ ।पुलमा कर लगाइनु लाज मर्नु भयो, पुलमै कर लगाएपछि कहाँका पर्यटक आउलान र बजारको व्यापार बढ्ला भन्दै तत्काल निर्णय फिर्ता लिन समेत स्थानीयले नगरपालिकालाई अनुरोध गरेका छन् ।

यो पुलले पाङ जानेलाई एक घण्टा समय छोट्याइदिएको छ । पुल बनेपछि बढेका पर्यटकले जिल्लाको व्यवसाय फस्टाउने व्यवसायीको आस थियो । यो पुलबाट कालीगण्डकी नदी, धौलागिरि हिमाल देखिन्छ। पुलमा धौलागिरी भित्रका म्याग्दी, पर्वतबाट समेत दैनिक ठूलो संख्यामा पुग्ने गरेको अवस्थामा विदेशी पर्यटक बाहेकलाई निशुल्क गर्नुपर्नेमा सरोकारवाला निकायको भनाई छ ।

यता नगरप्रमुख जनकराज पौडेलले पुलको नियमित मर्मतका लागि कोष बनाउन शुल्क लिइएको बताए । व्यवसायीले भने पुलमा शुल्क लगाउनुभन्दा नजिकमा रेस्टुरेन्ट खोलेर कर संकलन गर्न सुझाव दिएका छन् ।

Leave a Reply