कोरोनाको जोखिम बढेसँगै पुनः कालिपुल र रत्नेचौर नाकामा चेकपोष्ट राखिने

नयाँ भेरियन्ट सहितको कोरोना संक्रमित भेटिएपछि म्याग्दी प्रवेश गर्ने मुख्य दुई नाकामा सुरक्षा ब्यबस्था कडा पारिने भएको छ ।

कोरोना भाइरस संक्रमण फैलिएका जिल्लाका साथै छिमेकी राष्ट्र भारतबाट समेत लुकिछिपी आउने जोखिम बढेपछि कालिपुल र रत्नेचौरको नाकामा चेकपोष्ट राखी यात्रुको विवरण संकलन गरिने प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले जानकारी दिनुभयो ।

‘जिल्लाभित्र पनि कडाई गरिन्छ,‘बाहिरी जिल्लाबाटै आउनेबाट जोखिम छ,‘केही सेवाहरु बन्द गरिएको छ,‘निर्णयको कार्यान्वयनमा अटेरी गरे कारवाही गछौं’ प्रजिअ अधिकारीले भन्नुभयो ।

नाकाबाट प्रवेश गर्ने सवारीसाधनमा आउनेका पास अनुसार नागरिकता वा परिचय खुल्ने कागजात, ट्राभल हिष्टीको जानकारी लिने, संक्रमति फैलिएका जिल्लाबाट आउनेलाई कम्तिमा १० दिने होम क्वारेन्टाइनमा राखिने,पिसिआर रिर्पोट लगायतका कागजात नाकामा रहेका प्रतिनिधिलाई बुझाउनुपर्ने प्रशासनले जनाएको छ ।

छिमेकी जिल्ला बागलुङको एक विद्यालयको विद्यार्थीमा मंगलबार कोरोना पुष्टी भएको थियो । बुधबार जिल्ला प्रशासनले जारी गरेको सूचनामा सिनेमा हाल, सभासम्मेलन, खेलकुद गतिविधिलाई बैशाख मसान्तसम्म बन्द गरिने तथा मठमन्दिर, गुम्बा चर्चमा नियमित पूजा, ध्यान र प्रार्थना बाहेकका कार्यहरु बन्द गरिएको छ ।

७ बँुदे निर्देशनमा जमघट, भौतिक दुरी, मास्कको प्रयोग तथा भेला र जमघटमा कडाई गरिएको छ । संक्रमणको जोखिम बढेपछि परिस्थितिलाई गम्भीर रुपमा लिँदै बेनीबजारमा माइकिङ समेत गरिएको छ । बेनीमा पोखरा, काठमाण्डौ लगायतका क्षेत्रबाट आवतजावत गर्नेहरुबाट समुदायमा कोरोना फैलिएको छ ।