नयाँ भेरियन्ट सहितको कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय म्याग्दीले सामाजिक तथा धार्मिक गतिविधिमा समेत कडाई गरेको छ ।

बुधबार बसेको कोभिड–१९ संकट ब्यवस्थापन समितिको बैठकले विवाह, ब्रतबन्ध, पास्नी, न्वारन, धार्मिक अनुष्ठान, मलामी तथा अत्यावसेक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलाप सञ्चालन गर्दा २५ जना भन्दा बढी सहभागी हुन नपाउने गरी आदेश जारी गरेको हो । कोरोनाभाइरसको जोखिम न्युनीकरण गर्नका लागि यस्तो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताए ।

‘सामाजिक र धार्मिक गतिविधिमा पनि अव निगरानी गछौं,‘धार्मिक कार्यमा बाहिरी जिल्लाबाट समेत सहभागी हुन आउने भएकाले संक्रमणको जोखिम उच्च छ’ प्रजिअ अधिकारीले भने । विवाह सहित पारिवारिक उत्सवहरूमा स्थानीय तहका जनप्रतिनिधि सहित सुरक्षा निकायले समेत निगरानी गर्ने कोभिड–१९ संकट ब्यवस्थापन समितिले जनाएको छ ।

विवाह र मलामीमा प्रशासनले तोकेको संख्याको ब्यवहारिक कार्यान्वयनको सम्भावना भने न्यून भएपनि भौतिक दुरी र मास्कको अनिवार्य प्रयोग गर्नका लागि प्रोत्साहन गरिएको समितिका एक सदस्यले बताए । बैठकले जिल्लामा प्रवेश गर्ने मुख्य दुई नाकामा सुरक्षा ब्यबस्था कडा गरेको छ ।

कोरोना भाइरस संक्रमण फैलिएका जिल्लाका साथै छिमेकी राष्ट्र भारतबाट समेत लुकिछिपी आउने जोखिम बढेपछि कालिपुल र रत्नेचौरको नाकाबाट प्रवेश गर्ने सवारीसाधनमा आउनेका पास अनुसार नागरिकता वा परिचय खुल्ने कागजात, ट्राभल हिष्टीको जानकारी लिने, संक्रमति फैलिएका जिल्लाबाट आउनेलाई कम्तिमा १० दिने होम क्वारेन्टाइनमा बस्न अनुरोध गरिएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताए ।

उनका अनुसार बैशाख मसान्तसम्म सिनेमा हाल, सभासम्मेलन, खेलकुद गतिविधि, मठमन्दिर, गुम्बा चर्चमा नियमित पूजा, ध्यान र प्रार्थना बाहेकका कार्यहरु पूर्णरुपमा बन्द गरिएको छ । ७ बँुदे निर्देशनमा जमघट, भौतिक दुरी, मास्कको प्रयोग तथा भेला र जमघटमा कडाई गरिएको छ ।

संक्रमणको जोखिम बढेपछि परिस्थितिलाई गम्भीर रुपमा लिँदै बेनीबजारमा माइकिङ समेत गरिएको छ । बेनीमा पोखरा, काठमाण्डौ लगायतका क्षेत्रबाट आवतजावत गर्नेहरुबाट समुदायमा कोरोना फैलिएको अनुमान गरिएको छ। यसअगाडी कोभिड–१९ संकट ब्यवस्थापन समितिले कडा निर्णय गरेपनि कार्यान्वयन तह भने फिलतो हुने गरेको थियो ।

Leave a Reply