अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

६ छोरी जन्मिएपछि श्रीमान बेपत्ता, छोरीहरुको पढाई खर्च जुटाउनै हम्मेहम्मे

On: April 22, 2021 8:13 AM
Follow Us:

म्याग्दीको विकट धवलागिरी गाउँपालिका-२, लुलाङकी ३७ वर्षीया सुकमायाँ विक विवाह गर्दा १६ वर्षकी थिइन्। परिवारको आर्थिक स्थिति कमजोर रहेको अवस्थामा माइतीले २७ वर्षीय पूर्णबहादुर विकसँग विवाह गरिदिए।

१७ वर्षको उमेरमा आमा बनिन् । सुरुदेखि नै शरीर र पेट दुख्ने समस्याबाट ग्रसित सुकमायाँका श्रीमानले पहिलो सन्तान नै छोराको कामना गरेका थिए। पहिलो सन्तान छोरी जन्मिएपछि निकै निराश भएका श्रीमानको खुसीका लागि सुकमायाँले छोरा जन्माउने आशमा ६ छोरी जन्माइन् ।

तर पनि छोरा जन्मेन। निरोगीजस्तो देखिए पनि शारीरिक रूपमा कमजोर भएकाले सुकमायाँले दुई सन्तानभन्दा बढी जन्माउन मन थिएन। तर, लगातार पाँच छोरी मात्रै जन्मेपछि छोराकै पर्खाइमा ६ सन्तानलाई जन्म दिदाँ अहिले उनी रोगबाट ग्रसित छिन्।

घरमा छोरा नभए लखेट्ने धम्की दिदैं आएका पूर्णबहादुरले कान्छी छोरीको अनुहार समेत हेरेनन्। पूर्णबहादुरले छोरी र श्रीमतीलाई छोडेर अर्को विवाह गरी भागेको करिब दुईबर्ष भइसक्यो।

पाठेघरको समस्याले समान्य घरायसी काम बाहेक गर्न नसक्ने अवस्थामा पुगेकी सुकमायाँका श्रीमानले छिमेकी मालिका गाउँपालिका–३,रुमकी एक यूवतीलाई लिएर बागलुङमा बस्छन्। छोरीलाई सन्तानको रुपमा स्वीकार नै नगर्ने पूर्णबहादुरले चटक्कै छोडेर भागेपछि जेठी छोरी सर्मिलाले आफ्नो पढाई समेत छोडेर नियमित घरायसी काम र ज्यालामजदुरी गरी हातमुख जोड्न र बहिनीको पढाई खर्च जुटाइरहेकी छन् ।

लुलाङ गाउँभन्दा माथी वडा कार्यालयको सिफारिसमा गाउँपालिकाको आर्थिक सहयोगमा बनाइएको टहरामा बस्दै आएकी सुकमायाँलाई ७ जना छोरीको पालनपोषण गर्न कठिन भइरहेको छ।

लगातार छोरी जन्मिएकै कारण श्रीमान बेपत्ता भएपछि पालनपोषणमा समस्या भएको सुकमायाँले बताईन्। ‘श्रीमानको चाहना अनुसार धमाधम सन्तानलाई जन्म दिए,‘समाजले पनि एउटा छोरा नै खोज्ने रहेछ’ सुकमायाँले भनिन्। छोराको लोभमा छोरी बढी भएपनि अहिले छोरीहरूको सहयोगबाट घरायसी खर्च चल्ने गरेको बताईन् ।

‘जेठी छोरीलाई पढाउने चाहना छ,‘कतैबाट सहयोग जुटेमा छोरीहरूलाई पढाउन चाहन्छु’सुकमायाँले भनिन्। दुईतीन वटी छोरी जन्मेपछि परिवार नियोजनका लागि श्रीमानलाई सम्झाउँदा छोरा बिनाको घर अशुभ हुन्छ भन्दै धम्की दिएका थिए। हरेक पटक सुत्केरी हुँदा पटकपटक मृत्युको मुखबाट बचेको बताएकी सुकमायाँले श्रीमानको बाटो हेर्दा हेर्दा आँखा थाकिसकेको बताईन् ।

‘श्रीमानको इच्छाअनुसार सन्तान जन्माउने मेसिनको रुपमा मात्रै प्रयोग भए,‘कान्छी छोरी जन्मेपछि सुत्केरीको अवस्थामा पूरा पेट खाना खानसमेत पाइन’ गहभरि आँसु झार्दै सुकमायाँले भनिन्। उनले छोरीलाई राम्रो शिक्षा दिएर श्रीमानलाई देखाउने धोको भएपनि आर्थिक अवस्था कमजोर भएकै कारण सम्भव नभएको बताईन् ।

धेरै सन्तान जन्माउँदा रगत बग्ने, जीउ दुख्ने, खान मन नलाग्नेजस्ता समस्याले उनी पीडित छिन्। छोराको पखाईमा ज्यानको बाजी थापेर सन्तान जन्माउने सुकमायाँको समस्या निकै कमजोर रहेको स्थानीय यूवा रेशमबहादुर विकले बताए। ‘गाउँमा सबैभन्दा कमजोर परिवार हो,‘छोरी पढाई समेत छोडेर ज्यालामजदुरी गर्न जान्छिन्,उनले खर्च जुटाउन नसके भोकभोकै बस्नुपर्छ’ विकले भने ।

अधिकांश महिला छोरा नजन्माएकै आरोपमा विभिन्न घरेलु हिंसा भोग्न बाध्य भएको धवलागिरी गाउँपालिका उपाध्यक्ष रेशम छन्त्यालले बताए ।‘लुलाङमा कलिलै उमेरमा विवाह गर्ने क्रम रोकिएको छैन्,‘पछिल्लो समय सुधार आएपनि कमी हुन सकेको छैन,‘कलिलै उमेरमा विवाह गरेका अधिकांसको छोराछोरी धेरै छन्’ उपाध्यक्ष छन्त्यालले भने ।

आफ्नो सन्तान राख्ने र मरेको दिन दागबत्ती बाल्न छोरा मात्रै हुनुपर्छ भन्ने परम्पराबाट ग्रसित समाज, घर र श्रीमानको दवाबमा आमाहरू अहिले पनि इच्छाविपरीत छोरीको जन्मदिन बाध्य हुने गरेको अवस्थामा व्यवहारिक रूपमा छोरा र छोरी एकै हौं भन्ने कुरा स्थापित नभएसम्म महिलाले पाउने दुःख नहट्ने महिल अधिकारकर्मी ज्योती लामिछानेको भनाई छ।

जनचेतनाको अभाव र गरिबीकै कारण श्रीमतिमाथि श्रीमानले कुटपिट गर्ने र दोस्रो विवाह गर्ने गरेको बताउँदै कानुन अनुसार कारवाहीले समेत घटना न्यूनिकरणमा केही सहज हुने अधिकारकर्मी लाछिमानेले बताईन्।छोराको मात्रै गणना गर्ने समाजले महिलाको स्वास्थ्य बिग्रेकोभन्दा छोरा नजन्माएकोमा बढी चिन्ता गर्ने ग्रसित मानसिकतालाई तोड्नुपर्ने उनले बताईन् ।
धवलागिरी गाउँपालिका–२, लुलाङकी सुकमायाँ विक छोरीहरूसँग । तस्वीर सौजन्य रेशमबहादुर विक

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।