बेनी नगरपालिका–५, चिप्लेटीमा रहेको डिम्ब आधारभूत विद्यालयमा नवनिर्मित विद्यालय भवनको बिहीबार उद्घाटन भएको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम, बेनी नगरपालिका र राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा)को आर्थिक सहयोगमा विद्यालय भवन निर्माण गरिएको हो।

आर्थिक वर्ष २०७५÷७६ मा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममार्फत सांसद भूपेन्द्रबहादुर थापाले १० लाख, बेनी नगरपालिकाबाट आव ०७५÷७६ र ०७६÷७७ मा क्रमशः १६ लाख रुपैयाँका दरले ३२ लाख रुपैयाँको लागतमा दुईतले ६ कोठे आरसिसी भवन निर्माण गरिएको थियो ।

यसैगरी गत आवमा जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षाको २३ लाख ९० हजार रुपैयाँको ट्रसको अपाङ्गतामैत्री दुईकोठे भवन तथा १५ लाख रुपैयाँको लागतमा पक्की शौचालय निर्माण भएको छ । गतवर्ष नै गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयबाट प्राप्त तीनलाख रुपैयाँको लागतमा विद्यालयमा घेराबार लगाइएको छ ।

नवनिर्मित आरसिसी भवनको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य भूपेन्द्रबहादुर थापाले सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने बताए । उनले विद्यालयहरुमा आरसिसी भवन निर्माण गरेर मात्रै नहुने भन्दै विद्यालयभित्र विद्यार्थीमैत्री वातावरणमा गुणस्तरीय तथा प्रविधिमैत्री शिक्षा हुनुपर्ने बताएका छन् । उनले शैक्षिक गुणस्तर सुधार गर्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । आगामी दिनमा पनि विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि आवश्यक सहयोग गर्ने सांसद थापाको भनाइ छ ।

नवनिर्मित ट्रस भवनको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले भौतिक संरचना आफैमा साधन नभई साध्य भएकाले गुणस्तरीय शिक्षाका लागि आवश्यक वातावरण तयार गर्नुपर्ने बताए । उनले विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा प्रदान गरी देशका लागि आवश्यक शैक्षिक जनशक्ति उत्पादन हुने गरी शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्नुपर्ने बताएका थिए ।

बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले विद्यालयमा भौतिक संरचना निर्माण कार्य सकिएकाले अब गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि आवश्यक पहल गर्नुपर्ने बताए । उनले विद्यालय सेवा क्षेत्र भित्रका सबै बालबालिकाहरुलाई सोही ठाउँको विद्यालयमा पढ्ने वातावरण तयार गरी गाउँभन्दा बाहिरका विद्यार्थीहरुलाई पनि आकर्षित गर्नुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवाल, शिक्षा अधिकृत अर्जुन पौडेल, बेनपा–५, पुलाचौरका कार्यवाहक वडा अध्यक्ष रामप्रसाद सुवेदी, पूर्व गाविस उपाध्यक्ष भोजबहादुर कार्की, सम्मानित चन्दादाता गणेशबहादुर बानियाँ, जनकल्याण मावि पुलाचौरका अध्यक्ष गोपाल बानियाँ, भूपू विद्यार्थी तथा पत्रकार प्रताप बानियाँ र विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष एवं पूर्व प्रधानाध्यापक गणेशबहादुर कार्कीले मन्तव्य राखेका थिए ।

कार्यक्रमको अवसरमा विद्यालयलाई जग्गादान गर्ने तथा आफ्ना स्वर्गीय पिता दलबहादुर एवं माता पवित्रा खत्रीको नाममा विद्यालयमा पाँचलाख ५५ हजार पाँचसय ५५ रुपैयाँको अक्षयकोष स्थापना गर्ने हेमबहादुर खत्रीको स–परिवारलाई दोसल्ला ओढाएर सम्मानपत्र, अबिर तथा खादा लगाई सम्मान गरिएको थियो । यसैगरी विद्यालयमा नगद तथा काठपातसहित तीनलाख ३४ हजार सहयोग पु¥याएकोमा भाङ्ले सामुदायिक वन उपभोक्ता समूहलाई दोसल्लासहित सम्मानपत्रले सम्मान गरिएको छ ।

त्यस्तै ५० हजारभन्दा धेरै चन्दा सहयोग गर्ने मनकुमारी खत्री, गणेशबहादुर कार्की, नगेन्द्रबहादुर खत्री, गणेशबहादुर बानियाँ, दिर्घबहादुर थापा र सन्तु कार्कीलाई दोसल्ला ओढाएर सम्मानपत्रसहित सम्मान गरिएको विद्यालयले जनाएको छ । त्यसैगरी विद्यालयमा विभिन्न समयमा आर्थिक तथा जिन्सी सहयोग गर्ने चन्दादाताहरुलाई कदरपत्रले सम्मान गरिएको थियो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमबहादुर खत्रीको अध्यक्षता, प्रधानाध्यापक नारायण उपाध्यायको सञ्चालन र शिक्षक राधा शर्माको स्वागतमा सम्पन्न भएको थियो । २०४१ सालमा स्थापना भएको विद्यालयमा हाल दरबन्दीका २ जना, निजी ३ र एकजना कार्यालय सहयोगी कार्यरत छन्भने ४२ जना विद्यार्थीहरुले अध्ययन गर्दै आइरहेका छन् ।

Leave a Reply