---Advertisement---

चौतर्फी विरोधपछि मुस्ताङ भ्रमणमा निस्किएको अन्नपूर्णको टोली बिचबाटो बाटै फर्कियो

On: April 23, 2021 8:12 AM
Follow Us:

बेला न कुबेला मुस्ताङ भ्रमणमा निस्किएको उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको टोली चौतर्फी विरोधपछि बिच बाटोबाटै फर्किएको छ भने खर्च समेत ब्यक्तिगत गर्ने घोषणा गरेका छन् ।

अन्नपूर्ण गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारीहरु कार्यालयको प्रशासनिक र आर्थिक कामलाई बन्द गरेर विना उदेश्य घुमघाममा निस्किएको समाचार बेनीअनलाइनबाट प्रकाशित भएपछि चौतर्फी दवावमा परेका जनप्रतिनिधि र कर्मचारीको टोली उपल्लो मुस्ताङ प्रवेश नगरी बिचबाटोबाटै फर्किएको हो ।

गत चैत २८ गतेको कार्यपालिका बैठकले गरेको दश लाख बिनियोजन भएको स्थानीय तहको असल अभ्यासको अनुभव आदानप्रदान गर्न छिमेकी जिल्ला मुस्ताङका स्थानीय तहहरुसँग अन्तरक्रिया गर्ने निर्णय कार्यान्वयनको बिाहनामा मुक्तिनाथ तिर्थयात्रा र कोरला नाकाको भ्रमणमा निस्किएका थिए ।

विरोधसँगै भ्रमणमा लागेको खर्च समेत ब्यक्तिगत तिर्ने निर्णय भएको टोलीका एक कर्मचारीले बताए । मुस्ताङका स्थानीय तहले सिक्ने नयाँ र नौलो कुनै अभ्यासको सिको भन्दा पनि कोरला नाकासम्म पुग्ने गरी टोली मुस्ताङ गएको थियो ।

राजनीतिक रुपमा अनुभव कम तथा नियमित विकासका योजनामा समेत कर्मचारीमा निर्भर हुनुपर्ने बाध्यतामा रहेका स्थानीय तहको भ्रमण भन्दै ठूलो रकम विनियोजन गर्नु नै गाउँपालिकाको नितिगत भ्रष्टचार भएको भन्दै सामाजिक सञ्जालमा समेत निकै विरोध भएको थियो । उपल्लो मुस्ताङ स्थित कोरला नाकासम्म पुगेर बैशाख ११ गते फर्कने कार्यक्रम बनाइएपनि टोली हिजो बिहिबार नै फर्किएको छ ।

उपाध्यक्ष केशमाया मगर, ६ वटा वडाका अध्यक्ष सहित कार्यपालिकाका १२ जना सदस्य सहभागि भ्रमण टोलीमा प्रशासकीय अधिकृत पौडेलसँगै करिब दुई हप्ता अघि मात्रै मुस्ताङ घुमेर फर्कनुभएका लेखा अधिकृत जय सुबेदी, शिक्षा शाखाका भरत पुन र अन्य दुई जना कर्मचारी पनि सहभागी छन् । भ्रमणमा गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन, वडा नम्बर ३ दानाका अध्यक्ष नरसिंह पुर्जा र वडा नम्बर ४ का अध्यक्ष चन्द्रप्रकाश फगामी भने भ्रमणमा सहभागी थिएनन् ।