म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रेभीरबाट शुक्रबार मोटरसाइकल कालिगण्डकी नदीमा खस्दा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

मुस्ताङको पवित्र धार्मिक स्थल मुक्तिनाथ दर्शनका लागि मुस्ताङतर्फ आउदै गरेको ग १८ प १५९७ नंम्बरको मोटरसाईकल सडकबाट अनियन्त्रित भई १५० मिटर तल कालिगण्डकी खोंचमा खस्दा कास्की जिल्ला पोखरा महानगर पालिका-७ हेम्जा बस्ने अन्दाजी वर्ष ३८ का शिवहरी पौडेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक आशिष अधिकारीका अनुसार मुस्ताङतर्फ आउँदै गरेको उक्त मोटरसाईकल गुडिरहेको अवस्थामै अन्दाजी दिउँसो साँढे एक बजे अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भीक अनुसन्धानमा खुलेको छ ।

मुस्ताङ आउँदै गरेको उक्त मोटरसाईकलमा चालक एकजना मात्र सवार रहेको बुझिन आएको छ । मुस्ताङ र म्याग्दीको अत्यन्तै जोखिमयुक्त प्रवेशद्धारा काभ्रेभीर सडकमा मोटरसाईकल दुर्घटना भएको खबर प्राप्त गरेपछि जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरिक्षक नविकृष्ण भण्डारीसहितको प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

यस्तै ,दुर्घटनपछि घाँसा स्वास्थ्य चौकीको टोली सो स्थानमा पुगेको थियो । अहिले प्रहरीले दुर्घटनामा परी मृत्यु भएका पौडेलको शवको कानुनी प्रक्रियाका लागि मुचुल्का उठाउने काम भईरहेको जनाईएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङले दुर्घटनापरी मृत्यु भएका पौडेलको दुर्घटना सम्वन्धि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ ।

Leave a Reply